News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्री ९ दिने भ्रमणका लागि आज चीन जाँदै

काठमाडौं— उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदैछन्। चीनको ९ दिने भ्रमणका लागि श्रेष्ठ आज चीन प्रस्थान गर्ने कार्यक्रम छ। 

चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणमा चीन जान लागेका परराष्ट्रमन्त्री श्रेष्ठले मंगलबार समकक्षी यीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। 

परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा भ्रमणको एजेन्डा सार्वजनिक नगरे पनि भेटमा चीनको बेल्ट एन्ड रोड (बीआरआई) परियोजना कार्यान्वयन गर्ने विषयमा विस्तृत छलफल हुने चर्चा छ।

नयाँ सत्ता समीकरणसँगै सरकार परिवर्तन भएपछि गत चैत १ गते चिनियाँ राजदूत छङ सोङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बीआरआई परियोजनालाई अघि बढाउन आग्रह गरेका थिए। 

त्यसैको परिप्रेक्ष्यमा यो भ्रमणमा बीआरआई परियोजना कार्यान्वयनबारे विस्तृत छलफल हुने चर्चा चलेको हो। परराष्ट्रमन्त्री श्रेष्ठ गत अक्टोबरमा चीनमा भएको तेस्रो बेल्ट एन्ड रोड फोरममा गृहमन्त्रीको रुपमा सहभागी भएका थिए। 

चीन भ्रमणका क्रममा मन्त्री श्रेष्ठले बेइजिङका साथै चीनको अन्य प्रान्तहरुको पनि भ्रमण गर्ने र उच्चस्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

यसअघि शुक्रबार भ्रमणलाई फलदायी बनाउन सुरक्षा सल्लाहकार शंकरदास बैरागीका साथै विभिन्न मन्त्रालयका सचिवहरुसँग मन्त्री श्रेष्ठले छलफल गरेका थिए। 

छलफलमा सहभागीले चिनियाँ पक्षसँग ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क संजाल, कृषि प्रविधि हस्तान्तरणलगायतका विषयमा छलफल गर्न सुझाएका थिए। 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०८:३४
Weather Update