काठमाडौं— नेकपा एमालेका सचेतक महेश बर्तौलाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक समितिमा छलफल नभइ अघि नबढ्ने बताएका छन् ।
सोमबार बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग उनले अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाउन नसक्ने गरी मात्रै ऐन बनाउनुपर्ने अडानमा एमाले रहेको बताए ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक राष्ट्रको साझा विषय भएको बताउँदै बर्तौलाले परिपक्व ऐन बनाएर मात्रै अघि बढ्नुपर्नेमा जोड दिए ।
‘टीआरसीसँग सम्बन्धित विषय, विषयगत समिति पनि तत्काल बनाउने बारेमा छलफल भएको छ । टीआरसी राष्ट्रको साझा विषय हो । हामी छिटो गर्नुपर्छ भन्नेमा छौँ । त्यसको अर्थ विधेयकमा रहेका कतिपय कुरामा पनि हामीले बहस, छलफल गर्नुपर्छ’, बर्तौलाले भने, ‘टीआरसी विधेयक समितिमा लैजानुपर्छ । व्यवस्थित छलफल गरेर अघि बढाउनु पर्छ । १ महिना ढिलो गरौँ तर परिपक्व ऐन बनाएर अघि बढौँ ।’













