
काठमाडौं— फागु अर्थात होली पर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा सुरक्षा जाँचलाई कडाइ गरिएको छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान सात बजेदेखि राजधानीका ९० स्थानमा सवारी जाँच हुँदैछ। पर्वलाई सुरक्षित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको ट्राफिकले जनाएको छ।
सवारी जाँचका लागि नौ सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन हुनेछन्। उपत्यकाका तीनवटै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने र उपत्यका प्रवेश गर्ने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाइएको छ।
दुर्घटनारहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई नियन्त्रण गर्न सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्न लागिएको हो । होलीमा अनावश्यक हर्न बजाउने, नियम विपरित सवारी साधन चलाउने, हेल्मेट नलगाउने, तीव्र गतिमा मोटरसाइकल हाँक्नेमाथि विशेष कडाइका साथ कारबाही गरिने ट्राफिकले जनाएको छ।
ट्राफिकले ३० ओटा मोबाइल भ्यान परिचालन गरिने र आवश्यकताबमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राख्ने प्रहरीको तयारी छ । मादकपदार्थ र लागुपदार्थ सेवन गरेर सवारी चलाउनेलाई ट्राफिकले विशेष निगरानी गर्ने भएको छ।













