News Griha :: न्यूजगृह
बाबुरामको प्रस्ताव– संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔँ

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक स्थिरताका लागि छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा जानुपर्ने प्रस्ताव राखेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले वर्षमा तीन चोटी गठबन्धन र सरकार परिवर्तन हुने परिपाटीको अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता औँल्याएका हुन्।

आफूलाई ‘एक्लियो’, ‘हरायो’ भनेर चिन्ता व्यक्त गर्नेलाई सम्बोधन गर्दै उनले शनिबार साँझ सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘चिन्ता त्यता होइन यता गरौँ।’

भट्टराईले भिजनविहीन, गफाडी, आत्मकेन्द्रित, र विवादास्पद मान्छेबीच कुर्सी साटासाट भइरहने व्यवस्था संशोधन गर्न जरुरी भएको बताएका छन्।

‘वर्षमा तीन चोटी गठबन्धन र सरकार परिवर्तन हुने र उनै भिजनविहीन, गफाष्टक, आत्मकेन्द्रित, विवादास्पद मान्छेबीच कुर्सी साटासाट भइरहने हो भने भिजनरी नेतृत्व सहितको राजनीतिक स्थिरता कसरी हासिल हुन्छ? लोकतान्त्रिक स्थिरताबिना देश कसरी सुशासित र समृद्ध हुन्छ?,’ उनले एक्स मार्फत प्रश्न गरेका छन्, ‘यस निम्ति छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाँचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा किन नजाने?’ 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २१:०६
Weather Update