
काठमाडौं— बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले अनुसन्धान गरिसकेको छ। यो प्रकरणमा उद्योगी अरुण चौधरीसहित तीन पक्राउसमेत परे।
यही प्रकरणमा उद्योगी विनोद चौधरीलाई सीआईबीले बयान लिइसकेको छ। शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण भइसकेको जनाएको छ।
सोही प्रकरणलाई लिएर विनोदका छोरा अर्थात चौधरी ग्रुपको महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका निर्वाण चौधरीले तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न यस्तो क्रियाकलाप भएको बताएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उक्त घटनाका विषयमा न्यायालयले नै छिनोफानो गर्ने उल्लेख गरेका छन्। निर्वाणले युवाहरू स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् भन्ने प्रश्न पनि गरेका छन्।
‘आज राजनीति स्टन्डका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला? एकपटक आत्ममन्थन गरौँ,’ निर्वाणले फेसबुकमा लेखेका छन्।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका निर्वाणले देशलाई समृद्धि र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडिया जगतले अहिलेको अस्तव्यस्तता र अन्यौलको वातावरणलाई सहज बनाउन भूमिका खेल्ने विश्वास पनि लिएका छन्।













