
काठमाडौं— ज्ञानेन्द्र शाहले राहदानी नवीकरण गरेका छन्।
पत्नी कोमललाई साथै लिएर आफैं राहदानी विभाग त्रिपुरेश्वर गएका थिए पूर्व राजा शाह।
‘उहाँ राहदानी नवीकरण गर्न आफैं आउने भनेर खबर पायौँ तर हामीले यसलाई कसैले चलाएको हल्ला ठान्यौँ, नभन्दै उहाँ आउनुभयो र सर्वसाधारण सरह नै सेवा लिनुभयो,’ विभागका एक अधिकृतले बताए।
निर्मल निवास स्रोतका अनुसार गत सोमबार पूर्व राजारानी त्रिपुरेश्वरस्थित राहदानी विभाग गएर पासपोर्ट नवीकरण गरेका थिए।
सचिवालयले नै नवीकरणको काम गर्ने सल्लाह दिँदा पूर्व राजाले सर्वसाधारण युवाहरू आफैं लाइनमा बसेर राहदानी सेवा लिइरहेको प्रत्यक्ष हेर्न पनि चाहेकोले आफैं गएर नवीकरण गर्ने जवाफ दिएका थिए।
राहदानी नवीकरणको काम सकेपछि विभागका कर्मचारी र त्यहाँ उपस्थित युवाहरूले पूर्व राजासँग तस्बिर खिचेका थिए। कतिपयले सेल्फी खिच्न आग्रह गर्दा पूर्व राजाले सबैलाई समय दिएको सचिवालयले बताएको छ।













