
काठमाडौं— काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरूको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि काठमाडौं उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ।
कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाएको छ।
त्यस्तै ३० वटा मोबाइल भ्यान परिचालन गरि आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्टसमेत राखिने तथा दुर्घटना रहित होली पर्व मनाउन र उच्छृङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना छ। यसका लागी ९ सय भन्दा बढि ट्राफिक प्रहरी खटिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।
अनावश्यक हर्न बजाउने, होहल्ला गरि सवारी चलाउने, मोडिफाई गरि ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेलमेट नलगाउने, तीव्रगति र जिकज्याक गरि मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिनेछ भने अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिने छ।
विशेषगरी मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ्ग दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले रङ्गहरूको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरि सवारी चलाउने, नसालु पदार्थको (मापसे र लापसे) सेवन गरि सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर ट्राफिक चेकिङलाई कडा बनाइएको बताए।













