काठमाडौं— प्रमुख तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
सोमबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा उनीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीचको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको बताए । लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको छ ।
लेखकले भने, ‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई स्थायी नियुक्तिको प्रक्रिया संवैधानिक परिषद्बाट गर्ने कुरा जुन छ, त्यसमा पहल गर्नुभयो । प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीजीले त्यसमा सहमति गर्नुभएको छ । चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर टुंग्याउने सहमति भएको छ ।’
संसदीय समितिहरू सञ्चालन र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउने कुरामा पनि प्रमुख दलबीच छलफल भएको उनले बताए ।













