
काठमाडौं— बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार उनीहरूलाई उद्धार गरेको हो। बन्धक बनाउने चार जनालाई पनि प्रहरीले छ।
कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले काठमाडौँ महानगपालिका–१६ पकनाजोलस्थित निभाना ग्रीन पिस होम होटलको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको बताए।
उनका अनुसार बङ्गलादेशी नागरिक नुरूल हुडा, सामिम अहमद, एमडी मासुम बिल्लाह र प्रणय कुमारलाई पक्राउ गरिएको छ। उनीहरूले नै बन्धक बनाएका हुन्।
उनीहरूको पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लगेर जबर्जस्ती बन्धक बनाइराखेको पीडितहरूले प्रहरीमा बयान दिएका छन्।
उनीहरूमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ। अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको पोखरेलले बताए।
पीडितहरूलाई नेपालस्थित बङ्गलादेशी दूतावासमार्फत पठाइने उनले बताए।














