दसैँको दोस्रो दिन यात्रामा निस्किएका हामीहरु काठमाडौं फर्किएको १ हप्ता पनि भएको थिएन। काठमाडौंदेखि डोल्पासम्म बाइक यात्रा र शे–फोक्सुण्डो सम्मको गन्तव्य पछ्याउँदाको हिँडाइँले शरीर थिलथिलो नै भएको थियो। ज्यानले आराम खोजे पनि मन भने ‘मान्ने’ स्थितिमा थिएन।
तिहारको आगमनले काठमाडौंमा छुट्टै रौनक छाएको थियो। डोल्पा यात्राबाट फर्किएपछि वन्डरफुल गाइजहरु आ–आफ्नो काममा लागिसकेका थिए। परिवारसँग राम्ररी दसैँ मनाउन नपाएका धेरैलाई तिहारको चटारोले भ्याइनभ्याइ थियो। मैले भने तिहार मनाउन काठमाडौं छाड्ने निधो गरे। काठमाडौं छाड्नुको अर्थ घर जानु थिएन!
तिहारको मूख्य धार्मिक कर्म (लक्ष्मी पूजा) सम्पन्न गरेपछि साँझै हामीले योजना बनायौँ– यसपटकको भाइटिकाको बिहान पाँचपोखरीमा झुल्किने! गाई तिहारको दिन बिहानै काठमाडौं छाड्यौं।
वन्डरफुल गाइजहरु नभ्याउने भएपछि हाम्रो अर्कै ग्याङ बनेको थियो। गोकुल दादा (गोकुल मगर), दिल दादा (दिल शिरीष), अजय दादा (अजय खत्री) र म (प्रेम श्रीस) बाइकको एक्सलेटर बटारेर सिन्धुपाल्चोकको पाँचपोखरीतर्फ हान्नियौं।
काठमाडौंबाट आ–आफ्नै सुविधाअनुसार निस्किएका हामी मेलम्ची पुगेर मात्रै एकत्रित भयौं। बाइक राइड गरेर काठमाडौं छाडेपछि सजिलै पुगिने मेलम्ची यसअघि पनि गन्तव्य बनेको छ हाम्रो यात्राको। मेलम्चीका लागि हाम्रो ग्याङका सबै सदस्यका आ–आफ्नै अनुभूतिहरु रहेछन्। नदी किनारमा बसेको मेलम्ची बजारले छुट्टा–छुट्टै रुपले लोभ्याउँछ होला सायद, हरेक मानिसलाई। तर २०७८ असारको बाढीले भने यो बजारलाई क्षतविक्षत बनाइदियो। यसपटक पुग्दा मेलम्ची रंग उडेको गुलाबजस्तै देखियो।
इन्द्रावतीको किनारमा थकाइ मार्दै हामीले केही समय आ–आफ्ना ‘मेलम्ची–अनुभूति’ बाँड्यौं। पीडालाई धुँवामा उडाएर फेरि बाइकको एक्सलेटर बटार्यौं। हामीले बाइक राइडको अन्तिम गन्तव्य भोताङ (छिम्ता)सम्मलाई तय गरेका थियौं। काठमाडौंबाट करिब ४ घण्टा राइड गरेपछि हामी छिम्ता पुग्यौं।
समुद्री सतहबाट करिब १ हजार ८२० मिटरको उचाइमा रहेको छिम्तामा पर्यटकले छोटो समयका लागि विश्राम लिन्छन्। काठमाडौंबाट ढिला निस्किनेहरु भने यहीँ बास बसेर दोस्रो दिन मात्रै पाँचपोखरीका लागि हिँड्ने गरेका रहेछन्। छिम्तामा खाना र बसोबासका लागि थुप्रै होटल, लजहरु छन्।
काठमाडौंबाट भोकोपेट नै हिँडे पनि मेरा लागि खाजाको अवसर भने बाटोमै जुरेको थियो। वन्डरफुल गाइजका अगुवा सदस्य कश्यप दादाको ससुराली (ढकाल खहरे)मा पेटभर खाएर हिँडेको थिएँ। छिम्तामा केहीले खाना नै खायौँ। मैले भने पेटलाई हल्का रिचार्ज मात्रै गरेँ!
छिम्ताबाट ठाडै उकालो सुरु भयो। पाइलाहरु अगाडि बड्दै गएपछि बस्ती पातलो हुँदै गयो। धेरैका लागि ‘नाक ठोक्किने’ उकालोको यात्रा कष्टकर नै हुन्छ। तर यात्रामा दु:ख भएन भने एड्भेन्चरको अनुभूति पनि त हुँदैन नि! जंगलै जंगलको यात्रामा थकाइ आफैं हराउँछ कतै। सुन्दर दृश्यबाट आँखा तृप्त हुँदै गएपछि शरीरलाई लाग्ने थकाइको कसलाई मतलब!
छिम्ताबाट पाइला चालेको करिब ५ घण्टापछि टुप्पीडाँडा पुगियो। हामीले त्यो रात टुप्पी डाँडामा नै बिताउने निधो गरेका थियौं। सबैको यात्रा आ–आफ्नै प्रकारको हुन्छ। हाम्रो भने विन्दास पाराको हुन्छ। गन्तव्य कहिले पुगिएला? चिन्ता नगर्ने। बस यात्रामा रमाउने!
काठमाडौंबाट हिँडेको दोस्रो दिन। अर्थात २०८० सालको तिहार (यम पञ्चक)को चौथो दिन। टुप्पी डाँडाबाट बिहान करिब ६ बजेतिर हामीले पाइला चाल्न सुरु गर्यौं। टुप्पी डाँडा समुद्री सतहबाट करिब २ हजार ७७५ मिटरको उचाइमा पर्दो रहेछ। लेकाली जंगलको सुन्दर स्वरुप देखिन्छ यहाँ। बाटोकै छेउमा उभिएर, एकनिमेष हेरिरहँदा पनि हेरिरहुँ लाग्ने यहाँको सेरोफेरो!
कात्तिक महिनालाई बिदा गर्न तम्तयार मौसम। मंसिरको स्वागतका लागि मुटु नै छेड्ला जसरी चलेको चिसो हावा। एउटा हात ज्याकेटको गोजीमा राखी। अर्को हातले लौरो टेक्दै, उकालो काट्न अनवरत हिडिँरह्यौं हामी।
यात्राको स्मरण कहाँ रहन्छ? धेरैको स्वभाविक जवाफ हुन्छ– दिमागमा। अनि मोबाइलमा नि? मोबाइलमा पनि हुन्छ फोटो खिच्यो भने! खल्तीबाट हात निकाल्न मन नलागे पनि फोटो त खिच्नै पर्छ! आफ्नो गोजीबाट मोबाइल झिकेर अर्कोलाई थमाउँदै, पोज त दिनै पर्छ!
क्लिक क्लिक क्लिक! ब्याकग्राउन्ड नै सुन्दर भएपछि ‘अब्जेक्ट’ पनि राम्रो त देखिहाल्छ नि! यात्राका स्मरणहरुलाई जस्ताको त्यस्तै, जतनसँग राख्ने गतिलो चिज बनेको छ मोबाइल। यात्राको मनोभावका आधारमा विश्लेषण गर्ने हो भने मोबाइलको क्यामेराले मानिसको जिन्दगीमा छुट्टै रंग थपेको मान्न सकिन्छ।
हिँड्दै। बस्दै। कतै सुस्ताउँदै पनि। टुप्पी डाँडाबाट करिब ६ किलोमिटरको दूरी पार गरेपछि हामी ताप खर्क पुग्यौं। समुद्री सतहबाट करिब ३ हजार ४०० मिटर उचाइमा रहेको ताप खर्क राम्रै विश्राम स्थल हो यात्रीका लागि। हामीले करिब आधा घण्टा बितायौं त्यहाँ।
खाना खानका लागि हामीले नोस्याम पाटीका होटल साहुलाई फोन गरिसकेका थियौं। ताप खर्कबाट करिब २ किलोमिटर हिँडेपछि नेस्याम पाटी पुगियो। समुद्री सतहबाट करिब ३ हजार ६५० मिटरको उचाइमा रहेको नेस्याम पाटी पुगेपछि कसैकसैलाई लेक लाग्ने समस्या पनि देखिन्छ। लेकाली वातावरणमा अभ्यस्त नभएकाहरुले पाँचपोखरी पुग्नु अगाडि यहिँ बास बस्दा राम्रो हुन्छ। बास बस्नका लागि यहाँ लजको सुविधा उपलब्ध छ।
हामी भने खाना खाइवरी केही क्षण आराम गरेपछि बाटो लाग्यौं। पाँचपोखरी पुग्नका लागि करिब ७ किलोमिटरको दुरी तय गर्नुपर्छ नेस्याम पाटीबाट। राम्ररी हिँड्नेहरुका लागि २ घण्टाको बाटो भए पनि भुल्दै हिँड्ने हामीहरुलाई भने जति पनि समय लाग्न सक्ने!
नेस्याम पाटीबाट पनि केही समय ठाडै उकालो चढ्नुपर्छ। लौरीबिना कटेपछि भने ठूलै चउर आउँछ। लौरी विना कट्नुको अर्थ यात्रा लगभग पुरा हुनु पनि हो। त्यसपछि भने हिमश्रङ्खलाहरु नियाल्दै हिँड्न मिल्छ। आफू समानकै उचाइमा हिमालहरु देखिने भएपछि हिँडेको हो कि उडेको जस्तै लाग्छ।
चउर कटेपछि अलिबेर हिँडेर एउटा माने आउँछ। जहाँबाट पाँचपोखरीको केही भाग देखिन्छ। पाँचपोखरीको दृश्य देखिएपछि भने हिमालको छेउमै पुगेको अनुभूति हुन्छ। हरेक घुम्ती पार गरेपछि एउटा हिमालबाट अर्को हिमालको काखमा पुगेझैं लाग्ने।
अस्ताउँदो घामले रापिएर राता भएका हिमाल हेर्दै समय बितेको पत्तै नहुने। हामी पाँचपोखरी पुग्दासम्म भने साँझ परिसकेको थियो। तिहारको बेला भए पनि पाँचपोखरी पुग्ने पर्यटकको संख्या त्यसबेला पनि उल्लेख्य नै थियो। तिहार मनाउन छाडेर मानिसहरु घुम्न के आउलान् भन्ने सोचेर हो कि, पाँचपोखरीमा होटल चलाउने धेरै जना तल झरिसकेका रहेछन्। एउटा मात्रै होटल चालु थियो त्यतिबेला। हामीले पनि त्यहिँ बास बस्नुपर्ने भयो।
त्यस दिन पाँचपोखरी बसेका करिब ३२ जना हामी एउटै हलमा कोचियौं। शहरमा हुन्थ्यो भने ३२–३२ जना एउटै कोठामा सुत्नु कल्पना बाहिरको कुरा हो। त्यहाँ भने सबै सजिलै ‘एड्जस्ट’ भइयो।
यात्राभर शरीरलाई इनर्जाइज गरिरहेको ‘एक्साइटमेन्ट’ले पनि पाँचपोखरी पुगेर विश्राम लियो। खाना खाइवरी छिट्टै सुतेका हामी बिहान ५ बजेतिर उठिसकेका थियौं। बिहानै उठेर हामीले ‘भ्यू प्वाइन्ट’ जाने योजना बनाएका थियौं।
करिब १ घण्टा हिँडेपछि ‘भ्यू प्वाइन्ट’ पुगियो। ‘भ्यू प्वाइन्ट’ पुगेपछिको दृश्यले भने यात्राका सबै दु:खहरु बिर्साइदिन्छ। एउटै मैदानमा देखिने पाँच पोखरी चित्ताकर्षक लाग्छन्।
झुल्के घामको स्पर्षसँगै शङ्कर, जुगल, दोर्जे, लाक्पा हिमालले घुम्टो खोले। जतापट्टी फर्किएर हेर्दा पनि हिमाल नै हिमाल देखिने, हात लप्कायो भने छुनै मिल्ला जस्तो!
बिहानै चल्ने चिसो सिरेठोले भने भ्यू पोइन्टमा धेरै बस्न सकिएन। करिब १ घण्टाको समय बिताएपछि हामी पाँचपोखरीको किनारमै फर्कियौं। पाँचपोखरीको पश्चिमतर्फ, सानो डाँडापारि भगवान शिवको एउटा मन्दिर छ। जुन मन्दिरमा राखिएको शिलालेखमा पाँचपोखरी फेला पर्नुको आधार उल्लेख गरिएको छ।
शिलालेखमा उल्लेख भएअनुसार झन्डै २ हजार ३०० भन्दा बढी वर्ष अगाडि बुम्वा बाइवा नाम गरेका एकजना प्रख्यात सिकारी सिकार खेल्दै पाँचपोखरी पुगेका थिए। उनी त्यहाँ पुग्दा धान खेती गरिरहेको देखेछन्।
यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी छेउमा जाँदा धान खेती गर्नेमध्येका मानिस (महादेव) सिकारी बुम्वालाई देख्नेबित्तिकै सम्पूर्ण धान खेती गर्ने खेताला, यसै पाँचपोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भएछन्। यो दृश्य देखेपछि बुम्वाले आफ्नो सिकारी कुकुरलाई लगाएको घन्टी फुकाली रोपाइँ गर्दा अलप भएको ठाउँमा झुन्ड्याएर फर्किएछन्। त्यही ठाउँमा मन्दिर निर्माण गरी अचेल भगवान् शिवको पूजा आराधना गरिन्छ।
पाँचपोखरीमा अवस्थित भगवान् शिवको मन्दिरमा पूजा गरेमा सुख, शान्ति र महिलाहरूले शिवसरह श्रीमान् पाउने र बिहेपश्चात् सन्तान नहुनेहरूको मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यहाँ हरेक वर्ष भाद्र शुक्लपक्ष पुत्रदा एकदशीदेखि जनै पूर्णीमा (रक्षाबन्धन) सम्म विशेष मेला लाग्छ। हरेक वर्ष मेला भर्नका लागि ठूलो संख्यामा यहाँ श्रद्धालुहरु पुग्छन्।
बसन्त ऋतुको यो समय पनि पाँचपोखरी यात्राका लागि निकै उपयुक्त हो। डाँडाभरी फुलेका लालिगुराँसले यात्रालाई झनै रोमाञ्चक बनाउँछ। पाँचपोखरी जाने बाटोमा सेतो गुराँस समेत पाइन्छ। त्यसो त यात्रा गर्नेलाई जुनसुकै मौसम पनि राम्रै हुन्छ। पाँचपोखरी पनि सदाबहार गन्तव्य हो, विन्दास यात्रा गर्नेका लागि!