
काठमाडौं— कास्कीको मादी गाउँपालिका-१ सिक्लेसमा मृत फेला परेका रामबहादुर तामाङको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोक जुगल गाउँपालिका ३, गुम्दाका तामाङको हत्यामा संलग्न श्रीमतीसमेत ४ जनालाई कास्की प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो।
चैत १ गते मादी गाउँपालिका-१ सिक्लेसमा टाउकोमा चोट लागेको अवस्थामा रामबहादुरको शव भेटिएको थियो। अनुसन्धानपछि घटनामा मृतककी श्रीमती कान्छी लामासहित ४ जनाको संलग्नता देखिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार कान्छी लामा, धन लामा र दुई किशोर (छे दोर्जे लामा र फुर्वा लामा)लाई पक्राउ गरिएको छ। उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
पक्राउ परेका धन लामा भने पत्नी कान्छीको प्रेमी हुन्। रामबहादुरकी पत्नी कान्छीले ‘पन्छाउनु पर्यो, पैसा दिन्छु’ भनेपछि धनसहित छे दोर्जे लामा र फुर्वा लामा रामबहादुरसँगै पोखरा आएको प्रहरी बताउँछ।
‘गत फागुन अन्तिम हप्तामा घरमा गई बुबाआमासँग भेट गरी रामबहादुर सिन्धुपाल्चोकको मेलम्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनी निस्किएको देखिन्छ। त्यसपछि उनी फागुन ३० गते राति काठमाडौंमा अन्य साथीहरूसँग सिक्लेसमा रहेको हाइड्रोपावरतर्फ लागेको पाइएको छ,’ विकले भने।
सिक्लेसस्थित रहेको हाइड्रोपावरमा काम गर्न जाने क्रममा चैत १ गते बाटोमा रामबहादुरको ३ जनाले हत्या गरेका हुन्। टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेपछि धनसहितले शवलाई सडकदेखि ३० मिटर तल भीरमा फालिदिएका थिए।
हत्या गरेपछि धनले मृतकको श्रीमतीलाई फोन गरेर जानकारी दिएको प्रहरी अनुसन्धानबाट देखिएको छ।
‘घटनाबारे अन्य २ जना व्यक्तिले देखेका छन्, उनीहरूको मुख टाल्न पैसा थप गरेर पठाऊँ’ भनी ईसेवा आईडी दिएपछि मृतकको श्रीमतीले ९० हजार जम्मा गरिदिइन्। उक्त रकम काठमाडौं गएर निकाली २०/२० हजार अन्य दुईजनालाई दिएको बाँकी ५० हजार धनले राखेका थिए।













