
काठमाडौं— बाँसबारी छाला जुत्ता उद्योगबाट च्याम्पियन फुटवेयरले पाएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ ।
२०४४ भदौ ५ मा ६ रोपनी र २०४४ मंसिर १८ मा ४ रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको थियो।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयरको नाममा नामसारी भएको जग्गा सरकारकै भएको ठहर गर्दै शुक्रबार फिर्ता ल्याउने निर्णय गरेको हो।
मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छवि नेपालीले मालपोत ऐन २०३४ को दफा २४ भएको व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याएको बताए।
नेपालीले भने, ‘सीआईबीको सहयोगमा हामीले यसलाई थप अनुसन्धान गरेर मन्त्रालय र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले उक्त जग्गा सरकारको नाममा ल्याउने लामो समयदेखि प्रक्रियामा थियो। आज अन्तिम टुंगो लगाएका छौँ। मालपोत ऐनमा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारको जग्गा भएको ठहर्याई नेपाल सरकारको नाममा ल्याएका छौँ।’
मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमति/स्वीकृतिबिना जग्गा फुटवेयरको नाममा गएको ठहर गरिएको नेपालीले बताए।
यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी पक्राउसमेत परेका थिए। यही प्रकरणमा बिहीबार मात्र सांसद एवं उद्योगी विनोद चौधरीसँगसमेत बयान लिइएको थियो।













