
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन् । सोमबार बिहान उनीहरू ओली निवास बालकोट पुगेका हुन् ।
ओली अस्वस्थ भएको र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकहरू संसद्मा अघि बढाउने विषयमा सहमतिका लागि दाहाल, घिमिरे र देउवा बालकोटमा गएका हुन्।

यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, तथा कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुगेका छन् ।
विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।

आइतबार बिहान सभामुखले बालकोटमा बैठक बोलाए पनि प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन ।













