News Griha :: न्यूजगृह
कस्तो रहला आज दिनभरको मौसम?

काठमाडौं— काठमाडौंमा अहिले पारिलो घाम लागेको छ।  हिजो मध्यान्हसम्म घाम लागेको भएपनि त्यसपछि मौसममा बदली भएको थियाे।  शुक्रबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

देशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन्।

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ । 

उनका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका क्षेत्रमा बादल लागेपनि पानी पर्ने सम्भावना न्यून छ। काठमाडौंको अहिलेको वायुको तापक्रम १५ डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता चार किलोमिटर रहेको छ। आजको न्यूनतम तापक्रम ११ दशमलब ७ डिग्री सेन्टिग्रेड रहेको तथा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेन्टिग्रेडको बीचमा रहने मौसमविद् नगरकोटीले बताइन्।

यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।  कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १२:२१
Weather Update