News Griha :: न्यूजगृह
सरकारले अधिनायकवादको पूर्वाभ्यास गर्दैछ: शेखर कोइराला

काठमाडौं— नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले अधिनायकवादको पूर्वाभ्यास गर्न थालेको आरोप लगाएका छन्। 

सामाजिक सञ्जालबाट आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै नेता कोइरालाले संघीयताको मर्म अनुसार प्रदेश र स्थानीय तहका राजनीतिक संरचना बलियो बनाउनुको साटो जिल्लाका प्रशासनिक संरचनालाई बलियो बनाएर अधिनायवादको अभ्यास गर्न खोजेको आरोप लगाए। 

सरकारका गैर जिम्मेवार कदम आफ्नैलागि भारी पर्ने भन्दै कोइरालाले बेलैमा सच्चिन सुझाएका छन्। 

उनले लेखेका छन्, ‘गृह मन्त्रालयले प्रजिअहरूलाई चैत्र ८ गते जारी गरेको निर्देशनले एकातिर आज भन्दा अगाडी जिल्ला प्रशासन कार्यालयहरु कानूनले दिएको अधिकार प्रयोग गर्न र कर्तव्य पालन गर्न पूर्णरुपमा असक्षम थिए भन्ने बुझिन्छ भने अर्कोतिर देशको विकास, शान्ति सुरक्षा र राजश्व लगायत सबै अन्य मन्त्रालय अन्तर्गतका कार्यालयहरुले समेत प्रजिअ मार्फत गृहमन्त्रालयमा आफ्नो कामको प्रगति विवरण र प्रतिवेदन बुझाउनुपर्ने भन्ने देखिन्छ।’

बेलैमा सोच्न सुझावसहित कोइराला लेख्छन्, ‘संघीयताको मर्म अनुरुप प्रदेश र स्थानीय तहका राजनीतिक संरचना बलियो बनाउँदै जानु पर्नेमा जिल्लाका प्रशासनिक संरचना मार्फत केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास बाहेक केही हुनै सक्दैन। अझ नेपालको संविधानको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल र अनलाईन समाचार पोर्टलहरुको निगरानी र कारबाहीको बारेको निर्देशनको बुँदा राखिनु र दवाबपछि ती बुँदा हटाइनुले सरकारले राजनीतिक दल, सञ्चार जगत र नागरिक समाजको नाडी छाम्न खोजेको भान भयो । यस्ता गैरजिम्मेवारी काम सरकारलाई भारी पर्छ, बेलैमा सोचौं।’

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १०:४३
Weather Update