
काठमाडौं— संसदमा चाँडै टुङ्ग्याउनुपर्ने विधेयकलाई थाती राखेर प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे विदेश उडेका छन्।
घिमिरे जम्बो टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गरेका हुन्। सभामुख घिमिरेले आफू विदेश जानकै लागि १० दिन प्रतिनिधि सभा बैठक स्थगन गरेका छन्। उनी चैत १६ गते बिहान नौ बजे काठमाडौं आइपुग्ने कार्यतालिका छ। आफू १६ गते स्वदेश फर्किएपछि रेष्ट गर्ने समय नै निर्धारण गरेर प्रतिनिधि सभा बैठक चैत १८ गते आइतबारलाई बोलाएका छन्।
सभामुखसहितको टोली अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४८ औं महासभामा भाग लिन स्वीट्जरल्याण्ड गएको हो। महासभा चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुँदैछ।
को—को छन् सभामुख नेतृत्वको टोलीमा
सभामुख घिमिरेले १० जनाको नेतृत्व गरेका छन्। टोलीमा राजनीतिक दलका प्रमुख सचेतकसहित १० जना छन्।
टोलीमा चार दलका प्रमुख सचेतक छन्। कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार टोलीमा सहभागी छन्।
त्यस्तै राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे (माओवादी), संसद्का महासचिव पदमप्रसाद पाण्डेय, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, सभामुख घिमिरेका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद् सचिवालयका उपसचिव प्रदीप गुरागाईं टोलीमा सहभागी छन्।
महासभामा सभामुखको यो दोस्रो सहभागीता हो। यसअघि ०७९ फागुनमा बहराइनमा भएको १४६ औं महासभामा पनि सहभागी भएका थिए।
त्यस्तै २०८० को कात्तिक ६ देखि १० मा अफ्रिकी मुलुक अंगोलाको राजधानी लुवान्डामा भएको १४७ औं महासभामा भने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेतृत्व गरेका थिए।