News Griha :: न्यूजगृह
शर्मिला वाइबामाथिको अनुसन्धान सकियो, अझै २ दिन हिरासतमै बस्ने

काठमाडौं— कुटपिट तथा अङ्गभङ्गको कसुरमा पक्राउ परेकी सामाजिक अभियन्ता भनिएकी शर्मिला वाइबामाथिको प्रहरी अनुसन्धान सकिसकेको छ। अनुसन्धान सकिए पनि वाइबाले अझै केही दिन हिरासतमै बस्नुपर्ने भएको छ। 

काठमाडौं जिल्ला अदालतले बिहीबार शर्मिलालाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ। बिहीबार समेत गरी जिल्ला अदालतले वाइबाको हकमा सातौं पटक म्याद थप गरेको हो। 

कलाकार पवन खतिवडा ‘म्याकुरी’ले दिएको जाहेरीका आधारमा प्रहरीले गत फागुन १६ गते सिन्धुपाल्चोकबाट शर्मिलालाई पक्राउ गरेको थियो। शर्मिलाले आफू बसेको  घरमा पुगेर आफूमाथि कुटपिट गरेको भन्दै खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए। 

खतिवडाको जाहेरीपछि प्रहरी वृत्त महाराजगञ्जले शर्मिलामाथि अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन समेत बुझाइसकेको छ। अनुसन्धान प्रतिवेदन बुझाए पनि अदालतमा मुद्दा दर्ता गर्न भने बाँकी छ। 

‘अनुसन्धान सकेर हामीले फाइल सरकारी वकिलमा बुझाइ सकेका छौं,’ प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर थापाले भने, ‘अब केही दिनमा मुद्दा दर्ता हुन्छ होला।’

शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गङ्गा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेको घटना सार्वजनिक भएको थियो।

अनुहारमा चोटैचोट लिएर पवनले ‘पत्रकार सम्मेलन’ गरेर घटनाबारे जानकारी गराएका थिए। पवनको पत्नी सुम्निमासँग विवाद चलिरहेको छ। सोही विवादको विषयमा प्रवेश गर्दै वाइबाले आफूमाथि कुटपिट गरेको पवनले जाहेरीमा उल्लेख गरेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:३२
Weather Update