
काठमाडौं— सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ।
चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरामाथि बुधबारदेखि बयान लिन सुरु भएको हो। महराले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान दिइरहेका छन्।
आज पनि महराको बयान लिइने छ। उनलाई काठमाडौं जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको छ। अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ।
उनलाई सीआईबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद बिहीबार सिकिँदै छ। बयान र अनुसन्धान नसकिए पुन म्याद थप गरिने सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा (भेप)मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको छ। त्यसबेला सीआईबीले महरासँग बयान कागज गरेर मात्रै छाडेको थियो।
यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षमा थुनामा छन्।













