News Griha :: न्यूजगृह
अब शिक्षकको तलबका लागि प्रअ पालिका धाउनु नपर्ने

खोटाङ— खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले शिक्षकको तलब सिधै खातामा जम्मा गर्ने  व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यसअघिसम्म सम्बन्धित विद्यालयको खातामा शिक्षकको तलब जम्मा गरिदिँदै आएको गाउँपालिकाले शिक्षकको तलब मासिक रूपमा सिधै खातामा निकासा दिन थालेको हो ।

तलब वितरणलाई पारदर्शी र जवाफदेही बनाउनका तलब हालिदिने व्यवस्था कार्यान्वयनमा ल्याइएको गाउँपालिकाका लेखा प्रमुख पंकज आचार्यले बताए । तलबी विवरणलाई ‘सूत्र’ मार्फत कार्यान्वयन गर्ने पालिका प्रदेशमै ऐँसेलुखर्क गाउँपालिका र इलामको सुर्योदय नगरपालिका मात्र रहेको दाबी गरिएको छ ।

तलबका लागि विद्यालयका प्रअ गाउँपालिका पुग्नुपर्ने, प्रअले विद्यालय छाड्दा प्रशासन र पठन–पाठनमा असर पुग्ने र कतिपय प्रअले भनेको बेला शिक्षकको तलब जम्मा नगरिदिने समस्या हल गर्न सिधै शिक्षकको खातामा तलब निकासा दिन थालिएको हो ।

गाउँपालिकामा करिब दुई सयको हाराहारीमा शिक्षक कार्यरत छन् । शिक्षकको खातामा तलब जम्मा गर्न थालेपछि प्रअको समय बचत भएको छ भने गाउँपालिका धाउने समयलाई विद्यालयको शैक्षिक क्रियाकलापमा खर्च गर्ने वातावरण बनेको आचार्यले बताए ।

‘छिटो र छरितो काम हुन्छ । शिक्षकको ग्रेड वृद्धिबारे थाहा हुन्छ । कर कट्टी कति गर्नुपर्ने भन्ने थाहा हुन्छ, शिक्षकको अवकाश मिति थाहा हुन्छ,’ आचार्यले भने, ‘कतिपय प्रअले चार/पाँच दिनसम्म शिक्षकलाई तलब दिएन भन्ने गुनासो सुनिन्थ्यो । अब तलबका लागि प्रअले पालिका धाइरहनुपर्दैन ।’

२०७६ सालदेखि ‘सूत्र’ कार्यान्वयनमा ल्याएको गाउँपालिकाले २०७९ सालबाट चेकको सट्टा इएफटी (इलेक्ट्रोनिक्स फण्ड ट्रान्सफर) कार्यान्वयनमा ल्याएको जनाएको छ । चेकलाई विस्थापित गर्दै ‘रियल टाईम, रियल एक्स्पेन्डीचर’ भन्ने नारालाई कार्यान्वयनमा ल्याइएको आचार्यले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०८:४३
Weather Update