News Griha :: न्यूजगृह
आज चार संसदीय समितिको बैठक, अर्थ समितिमा बजेटबारे छलफल हुने
फाइल तस्बिर

काठमाडौं— प्रतिनिधिसभा अन्तर्गत्का चार वटा संसदीय समितिको बैठक आज बस्दै छ।

बिहीबार कानून न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे र महिला तथा सामाजिक विकास समितिको बैठक साढे १० का लागि बोलाइएको छ । अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । 

अर्थ समितिमा आज आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । प्रनितिधि सभामा विनियोजन विधेयकमाथिको छलफल बुधबार सकाएर अर्थ समितिले आज मन्त्रीसँग समितिमा छलफल गर्न लागेको हो । 

अर्थ समितिले अर्थमन्त्री वर्षमान पुनलाई बिहीबार समितिमा डाकेर सो बारे छलफल गर्ने कार्यसूची तय गरेको छ । यस्तै, समितिमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता तथा कार्ययोजना सम्बन्धमा उपसमितिको तयार पारेको प्रतिवेदन पनि प्रस्तुत हुने छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २८ औं बैठक पनि आजै बस्दै छ । बैठकले उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनहरु माथि छलफल गर्ने कार्यसूची राखेको छ । 

कानून न्याय तथा मानवअधिकार समितिमा भने नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरु र नेपालका जेलभित्र रहेका कैदी एवं थुनुवहरुको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण गर्ने सम्बन्धनमा छलफल गर्न लागेको छ । यस्तै,आजकै बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने पनि समिति सचिव अधि राज राईले जनाकारी गराएका छन् । 

महिला तथा सामाजिक मामिला समितिले भने  प्रतिनिधि सभा सांसद मन्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०८:४९
Weather Update