
काठमाडौं— पूर्वी नेपालसहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार शनिबारसम्म काठमाडौं उपत्यकासहित कोशी, बागमती र मधेस प्रदेशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा जारी रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहारमा विकसित न्यून चापीय प्रणालीका कारण बुधबारदेखि बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा सुरु भएको छ। हाल काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ।
आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली हुने तथा बुधबार देखि शुरु भएको वर्षा नरोकिने पोखलेरले बताए ।
‘बुधबार सबैभन्दा धेरै वर्षा धनकुटामा मापन भएको छ । आज कोशी,बागमती र गण्डकीका अधिकांश स्थानमा वर्षा हुने देखिएको छ । कोशी र तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ । पानी शनिबारसम्म नै पर्ने देखिन्छ,’ पोखरेलले भने ।
बुधबारबाट बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात समेत भएको छ। देशको पूर्वी तथा मध्य भागमा बढी पानी परेको महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भए पनि पानी परेको छैन। बुधबार सिन्धुलीको सानीबास भन्ने ठाउँमा २६.२ मिलिमिटर, मकवानपुर गढीमा १६.४ मिलिमिटर, ललितपुरको लेलेमा १६.२ मिलिमिटर, काठमाडौंको धाप ड्याम क्षेत्रमा ११.६ मिलिमिटर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ९ मिलिमिटर, बबरमहल क्षेत्रमा ७.६ मिलिमिटर वर्षा मापन भएको छ । मौसमविद् विनोद पोखरेलका अनुसार गत २४ घण्टामा धनकुटामा सबैभन्दा धेरै ५२ दशमलब २ मिलिमिटर वर्षा मापन भएको छ भने शनिबार सम्म झरी पर्ने छ।
बुधबारबाट शुरु भएको वर्षा ‘प्री मनसुन’ का रूपमा भएको हुनाले वर्षाले मधेर र पहाडमा किसानका बालीलाई राहत पुगेको छ। यस्तै, वर्षाले देशका विभिन्न क्षेत्रमा लागेका डडेलो नियन्त्रणमा पनि राहत पुर्याएको महाशाखाले जनाएको छ।
बिहीबार देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली भई बागमती,गण्डकी,मधेस प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने छ ।
आज कोशी प्रदेश र मधेस प्रदेश सहित तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा सहित हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, शुक्रबार देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार देशको पूर्वी तथा मध्य भू –भागमा आज र भोली निरन्तरजसो वर्षा हुने छ ।













