News Griha :: न्यूजगृह
सिंहदरबारभित्र डीडीसीको सहुलियत बिक्री केन्द्र स्थापना

काठमाडौं— दुग्ध विकास संस्थान (डीडीसी)ले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।

डीडीसीले स्थापना गरेको उक्त सहुलियत केन्द्रको मुख्यसचिव डा वैकुण्ठ अर्यालले शुभारम्भ गर्दै डीडीसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने उल्लेख गरे।

दुग्धजन्य वस्तुको बिक्रीवितरण कमी भइरहेको समयमा सिंहदरबारभित्र स्थापना गरिएको बिक्री केन्द्रले बिक्रीवितरणमा थप सहयोग हुने उनले बताए। 'डीडीसीले सिंहदरबारभित्र बिक्री केन्द्र खोलेरभन्दा पनि मुलुकभर बिक्री विस्तार गर्न आवश्यक छ', उनले भने।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले पछिल्लो समय डीडीसीले दुग्धजन्य पदार्थ बिक्रीवितरणबाट नाफा कमाएको बताए। 'पछिल्लो समय दुग्धजन्य पदार्थमा आएको कमीलाई सिंहदरबार बिक्री केन्द्रले राहत पुग्ने विश्वास मन्त्रालयले लिएको छ', उनले भने। 

बिक्री केन्द्र स्थापना भएसँगै दुग्धजन्य पदार्थको बिक्रीवितरण बढ्ने लक्ष्यका साथ सिंहदरबारभित्र डीडीसीले बिक्री केन्द्र स्थापना गरेको डीडीसीका सूचना अधिकारी एवं निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबाभित्र अहिले दुई हजार पाँच सयभन्दा बढी कर्मचारी कार्यरत छन्। 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०६:११
Weather Update