News Griha :: न्यूजगृह
काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा
फाइल तस्बिर

काठमाडौं— नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपासको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण देशभरको मौसममा बदली भएको छ। 

अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी , मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात समेत भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०५:५५
Weather Update