
काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्ने गरी सुरक्षा लगायतका प्रबन्ध गर्न निर्देशन दिएका छन्। जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटकहरुको बढी चहलपहल हुने क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ।
सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले गर्नेगरी ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन हुने तयारी थालिएको छ। जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन्।
‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै खुला हुन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले भन्नुभयो, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं।’
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने योजना रहेको गृह मन्त्रालयले जनाएको छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ।
हाल ठमेल र दरबारमार्ग क्षेत्रमा प्रकृतिअनुसार ४ समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।













