News Griha :: न्यूजगृह
सभामुख विदेश भ्रमणमा जाने भएपछि प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
सभामुख देवराज घिमिरे (फाइल तस्बिर)।

काठमाडौं— सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित गरेका छन्। बुधबार अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख घिमिरेले १० दिनका लागि बैठक स्थगित गरेका हुन्। 

प्रतिनिधि सभाको अर्को बैठक चैत १८ गते, आइतबार बिहान ११ बजे बस्ने भनिएको छ। १० दिनका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका सभामुख घिमिरे चैत ८ गते, बिहीबार विदेश भ्रमणमा जाँदैछन्। 

स्विट्‌जरल्याण्डको जेनेभामा हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४८औँ सम्मेलनमा भाग लिन सभामुखसहित पदाधिकारीहरुको टोली त्यसतर्फ जान लागेको हो। सभामुख घिमिरेको नेतृत्वमा संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सदस्य गंगा बेल्बासे जेनेभा जाँदैछन्।

यस्तै, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि जेनेभा जाँदैछन्।

सभामुख सहितको टोली चैत १६ गते स्वदेश फर्किने तय भएको छ। आफ्नो ८ दिने विदेश भ्रमणका लागि सभामुख घिमिरेले १० दिन नै संसद् बैठक स्थगित गरेका हुन्। 

विधेयक अधिवेशनको रुपमा रहने हिउँदे अधिवेशनको प्रमुख समयमा १० दिन नै प्रतिनिधि सभा बैठक स्थगित हुँदा कानुन निर्माणको काम प्रभावित हुने केही सांसदहरुको चिन्ता छ। नेकपा माओवादी केन्द्रका १ जना सांसदले केही प्रतिनिधिहरुलाई जेनेभा पठाएर संसद चालु राख्न सुझाव दिइएको बताउँछन्। तर सभामुखसहित प्रमुख दलका प्रमुख सचेतकहरु पनि जेनेभा भ्रमणका जाने भएकाले यसबीचमा संसद् चल्ने सम्भावना नदेखिएकाले १० दिनका लागि प्रतिनिधि सभा स्थगित गरिएको उनको भनाइ छ। 

सभामुखसहित पदाधिकारीहरुको विदेश भ्रमणका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल पनि हतारोमा टुंग्याइएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएको जानकारी दिए। अब उक्त विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नसहितका सुझावहरु समेटेर प्रतिवेदन बुझाइ सरकारलाई बुझाइने सभामुखले जानकारी दिएका छन्। 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:४३
Weather Update