
काठमाडौं— प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद तथा अर्वपति व्यवसायी विनोद चौधरीमाथि अनुसन्धान अगाडि बढाएको छ। बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले चौधरीमाथि अनुसन्धान अगाडि बढाएको हो।
प्रतिनिधि सभा सदस्य रहेका चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा सीआईबीले सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको छ। संघीय संसद् सचिवालय स्रोतका अनुसार सीआईबीका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले सभामुखलाई पत्र लेख्दै चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएका छन्।
सभामुखलाई बुझाइएको पत्रमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ को कार्यालय र नवराज शर्मासमेतको जाहेरीले चौधरीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढेको उल्लेख छ।
‘सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयरधनी तथा तत्कालीन संचालक समिति सदस्य संघीय संसद्का माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ,’ सभामुखलाई पठाइएको पत्रमा सीआईबीले लेखेको छ।
सीआईबीका १ जना उच्च अधिकारीले बाँसबारी छाला जुत्ता काराखानाको जग्गा हिनामिना प्रकरणमा विनोद चौधरीसहित संलग्नता देखिएका अरुमाथि पनि अनुसन्धान भइरहेको बताए।
‘काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ को कार्यालयले पनि यस विषयमा जाहेरी दिएको छ। जसअनुसार अहिले छानबिन र अनुसन्धानको प्रक्रिया चलिरहेको छ,’ ती अधिकारीले न्यूजगृहसँग भने, ‘अनुसन्धान भइरहेको विषय गोप्य कुरा हो। हामीले गोप्य भनेर नै सभामुखलाई पनि पत्र पठाएका थियौं। संसद् सचिवालयले सार्वजनिक गरिदिएछ।’
जग्गा हिनामिना प्रकरणमा संलग्नता देखिएको भन्दै सीआईबीले यसअघि चौधरीका भाइ, व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको थियो। गत माघ १८ गते, बिहीबार पक्राउ परेका चौधरी केही दिन सीआईबीको नियन्त्रणमा रहेका थिए। तर पछि भने काठमाडौं जिल्ला अदालतले उक्त अनुसन्धानका लागि चौधरीलाई हिरासतमा राखिरहनु नपर्ने भन्दै रिहा गर्न आदेश दिएको थियो।
सीआईबीले त्यतिबेला चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो।
थापा अध्यक्ष रहेको बेला बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा अनधिकृत रुपमा व्यक्तिको नाममा लैजाने काम भएको देखिएको थियो। बाँसबारी छाला जुत्ता उद्योग निरन्तर घाटामा गएको भन्दै १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बेचिएको थियो। च्याम्पियन फुटवेयरमा विनोद चौधरी, बसन्त चौधरी र अरुण चौधरी लगायत संस्थापक सदस्य थिए।