
काठमाडौं— पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरिएको छ। यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको हो।
पहिलो मात्रा खोप लगाएका ९ हजार ९९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए। उनका अनुसार यसअघि पहिलो मात्रा खोप लगाइएका अस्पतालमा नै दोस्रो खोप लगाउन किशोरी जानुपर्नेछ।
कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेस प्रदेशको नारायणी अस्पताल वीरगन्जमा, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको प्रदेश अस्पताल वीरेन्द्रनगरमा बुधबारदेखि खोप लगाउन सुरु गरिएको हो। लुम्बिनी प्रदेशको भेरी अस्पतालमा भने मंगललबारदेखि खोप लगाउन सुरु गरिएको थियो।
बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा यही चैत ८ गतेदेखि, सुदुरपश्चिमको डडेलधुरा अस्पतालमा यही चैत १५ गतेदेखि दोस्रो मात्रा खोप लगाइने खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए।
सरकारले गत भदौ अन्तिम सातादेखि खोप अभियान सञ्चालन गरेको थियो। दोस्रो मात्रा खोप एक हप्ताभित्र प्रदान गरिने गौतमले बताए। उनका अनुसार दोस्रो मात्राको लागि करिब १० हजार मात्रा खोप सम्बन्धित अस्पतालमा पठाइसकिएको छ।
सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार मात्रा खोप खरिद गरेको थियो। १० हजार मात्रा पहिलो पटकको अभियानमा लगाइएको थियो।
खोप शाखाका प्रमुख डा गौतमले १४ वर्ष पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपीभी खोप लगाइएको बताए। यो खोपको दुवै मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ।
यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा लगाएको थियो। नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरैमा देखिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले बताए। उनका अनुसार विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तनक्यान्सर हुने गरेको छ।
प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा शाहीले ‘ह्युमन प्यापिलोमा भाइरस’को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गरेको भन्दै खोप शतप्रतिशत सुरक्षित र ९९ प्रतिशत प्रभावकारी रहेको बताए। उनका अनुसार भाइरसका कारण ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धुम्रपान तथा सानै उमेरमा विवाह गर्नेलगायत कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ।