काठमाडौं— देशका धेरै भूभागमा आज वर्षा भएको छ। बागमती प्रदेशको काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा पनि अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।
उनका अनुसार पछिल्लो १२ घण्टामा मकवानपुरको राजरैयाँमा १४.६ तथा सर्लाहीको चुरेमाईमा ३१.८ र सिन्धुलीमा ३०.२ मिलिमिटर वर्षा भएको छ।
ललितपुरको लेलेमा १३.६,काठमाडौंको ढापड्याममा १०.४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७.४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा अहिले हल्का हिमपात भइरहेको मौसमविद् पुडासैनीले बताए। उनले भने, 'काठमाडौंमा पानी पर्दा चिसो बढेको छ, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहेको छ। शुक्रबारदेखि मौसम खुल्दै जानेछ।'
काठमाडौंमा आज दिनभरि जसो मौसम बदली रहने र पानी केही समय पर्ने र रोकिने क्रम दिनभर चलिरहनेछ। अहिले काठमाडौंको वायुको तापक्रम १२ सेन्टिग्रेड, पारदर्शिता पाँच किलोमिटर मापन गरिएको छ भने अधिकतम तापक्रम २१ देखि २३ सेन्टिग्रेडबीच रहने अनुमान गरिएको छ।