
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका निर्वाचन क्षेत्रहरूमा हार स्वीकार्य नहुने भन्दै पार्टी कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन्।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काठमाडौंमा एमालेको प्रदर्शन कमजोर भएको भन्दै सुधार्न आवश्यक रहेको औंल्याए।
उनले भने, राजधानीले सिंगो देशको प्रतिनिधित्व गर्छ। काठमाडौंमा हाम्रो प्रदर्शन कमजोर कसरी भयो ? कसरी असफलतातिर गइरहेका छौं। यसबारे सोच्ने बेला आएको छ। यसका लागि अब हामी अघि बढ्नुपर्ने बेला आएको छ। काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौँ, यो स्थितिलाई अनिवार्य बदल्नुछ।’
प्रतिनिधि सभा निर्वाचन, २०७९ मा नेकपा एमालेले काठमाडौंका १० मध्य १ मात्र निर्वाचन क्षेत्रमा चुनाव जितेको थियो। काठमाडौं क्षेत्र नम्बर ९ बाट एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ मात्र विजयी भएका थिए।
अध्यक्ष ओलीले एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका कामको प्रति पनि यो परिणाम सन्तोषजनक नरहेको बताए।
पार्टीका प्रत्येक कार्यकर्ताले डायरी बोकेर आफूले संगठन र पार्टीका लागि गरेका कामहरूको नोट गर्नुपर्ने उनको निर्देशन थियो।