
काठमाडौं— प्रतिनिधि सभा सदस्य (सांसद) रामहरि खतिवडाले अर्थमन्त्री खोज्दै प्रतिनिधि सभा बैठकमा आफ्नो भाषण नै रोकेका छन्।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रतिनिधि सभाको रोस्ट्रममा पुगेपछि अर्थमन्त्री वर्षमान पुन नदेखेपछि सांसद खतिवडाले अर्थमन्त्री उपस्थित नभएको बारे प्रश्न उठाए। विनियोज विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहँदा अर्थमन्त्री नै संसद् बैठकमा अनुपस्थित भएको भन्दै उनले मन्त्री नआउन्जेल छलफल गर्नुको अर्थ नहुनेबारे सभामुखको ध्यानाकर्षण गराए।
संसद् बैठक सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा उपस्थित भएको जानकारी गराइन्।
राष्ट्रिय सभा बैठकमा पनि बुधबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलेको थियो। छलफलका क्रममा राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिन अर्थमन्त्री पुन त्यहाँ उपस्थित भएका थिए। त्यही बेला प्रतिनिधि सभामा उनको खोजी भएको थियो।
सांसद खतिवडाले अर्थमन्त्री नआए छलफल रोक्नुपर्ने प्रस्ताव गरे। उपसभामुख रानाले अर्थमन्त्री बाटोमा रहेको जानकारी गराइन्। सांसद खतिवडाले त्यतिञ्जेलसम्म आफू कुर्न तयार रहेको बताए।
सांसद खतिवडाले खोजी गरेको करिब ३ मिनेटको अवधिमा अर्थमन्त्री पुन प्रतिनिधि सभा बैठकमा उपस्थित भए। त्यसपछि खतिवडाले आफ्ना भनाइ राख्न थाले।
प्रतिनिधि सभा बैठकमा बुधबार पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ।