News Griha :: न्यूजगृह
अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति 

काठमाडौं— सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँका बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। 

सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार  एसएल आर २२ बोरसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का रामकुमार धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

उनले भने, 'सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका खड्का र धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ, उनीहरुमाथी हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।’ 

प्रसाईंको मुद्दाको पेसी भएकाले पुगेका उनीहरूका साथमा हतियार फेला परेपछि अदालतको गेटमा प्रहरीले पक्राउ गरेको थियो। 

प्रसाईंले आफ्नो नाममा जिल्ला प्रशासन कार्यालय झापाबाट लाइसेन्स (इजाजत पत्र) लिएर आफ्ना सुरक्षागार्डलाई हातहतियार बोक्न दिने गरेको पाइएपछि गृह मन्त्रालयले घटनाको छानबिन समेत थालेको छ। 

गृह मन्त्रालयले मंगलबार देशभरका जिल्ला प्रशासनसँग व्यक्तिलाई सुरक्षाका लागि राख्न इजाजत दिइएका हतियारको विवरण मागेको छ। २४ घण्टाभित्र पठाउन परिपत्र गरेको गृहले त्यसको अध्ययन गर्ने भएको छ। हातहतियार खरखजाना ऐनले व्यक्तिगत सुरक्षाका लागि जिल्ला प्रशासनको अनुमतिमा हतियार राख्न दिइने प्रावधान भए पनि एउटाका नामको हतियार अर्कोले बोकेर हिँड्न पाइँदैन।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:२७
Weather Update