दासढुङ्गामा ट्रक र मोटरसाइकल ठोक्किए, एकको मृत्यु
चितवन— नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २९ का ३२ वर्षीय सोमलाल लामा छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार वडा नं २९ दासढुङ्गामा आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ७६४ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
आज बिहान १ः५० बजे भएको दुर्घटनामा परी लामा गम्भीर घाइते भएर उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।
लामाको उपचारका क्रममा मृत्यु भएको हो। ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।
प्रकाशित मिति: बुधबार, चैत ७, २०८० १२:१२