
काठमाडौं— नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला घरिघरि ढुकुरको उदाहरण दिएर राजनीतिका बारेमा संक्षिप्त मन्तव्य दिने गर्थे। ‘रुखमा ढुकुरको बथान बसेको देखेर त्यो समाउन हातमा भएको ढुकुर उडाएर त्यसको पछि लाग्नु हुँदैन, रुखको छेउमा पुगेपछि ढुकुर भुर्र उडिहाल्छ। न त्यो समाउन सकिन्छ न त हातकै ढुकुर रहन्छ’ कोइराला आफ्नो मन्तव्यमा यति उदाहरण दिन्थे र कुरा टुङ्ग्याउँथे।
कोइरालाको यो उदाहरणलाई तत्कालीन सन्दर्भ अनुसार अर्थ लगाएर विवेचना गरिन्थ्यो भने यसैलाई आआफ्नो सुविधा अनुसार व्याख्या गरेर राजनीतिको मसला पनि बनाउने गरिन्थ्यो। तर कोइराला स्वयंले भने यसको विस्तारमा विश्लेषण गरेनन्।
कोइरालाको निधन भएको बुधबार १४ वर्ष पूरा भएको छ। नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरूले कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन्। कोइरालाकी पुत्री सुजाताले भने आज शारीरिक रुपमा अशक्त बालबच्चालाई दिवा भोजन गराएर पिताजीलाई श्रद्धाञ्जली अर्पण गर्ने भएकी छन्। उनी पिताजीलाई सानु बुवा भन्छिन्। ‘आज जोरपाटीमा अशक्त बालबच्चालाई दिवा भोजन गराउने कार्यक्रम छ, अरु बेला अरु नै किसिमका सेवाका कार्यहरू त चलिरहेकै छन्,’ सुजाताले भनिन्।
स्वर्गीय कोइरालाको अगुवाइमा भएको जनआन्दोलन पछि सशस्त्र युद्ध गरिरहेको माओवादी पार्टी शान्ति प्रक्रियामा आएको थियो। माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री कोइराला त्यसपछि राजनीतिमा सक्रिय भूमिकामा आउन नपाई संसारबाट बिदा भएका थिए।
उनको स्मृति दिवसमा नेपाली कांग्रेस केन्द्रीय समितिले भने कुनै कार्यक्रमको आयोजना गरेको छैन। देशभरका ७७ वटै जिल्ला कार्यसमितिले भने कोइरालालाई सम्झने भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रले नै सबै जिल्लालाई कार्यक्रमको आयोजना गर्न निर्देशन दिएको हो। २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो। यसपछि भएका आन्दोलनको नेतृत्व कोइरालाले नै गरेका थिए र विगठित प्रतिनिधि सभाको पुनस्थापना नै समस्याको एकमात्र समाधान हो भनेर उनले त्यसमै अडान लिइरहे।
२०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए। पछि जनआन्दोलनको दबाबमा राजाले निरंकुश सत्ता छाड्दा प्रतिनिधि सभाको पुनस्थापनाको घोषणा गरेका थिए र पुनस्थापित प्रतिनिधि सभामा माओवादी समेत प्रवेश गरेको थियो।
आन्दोलन सफल भएपछि कोइराला चौथोपटक प्रधानमन्त्री बनेका थिए। पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाका सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरिदिएको थियो।
कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजन सहित हतियार व्यवस्थापन भएको थियो। उनकै नेतृत्वमा छ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बीपी कोइरालाको सपना २०६४ चैत २८ गते पूरा भएको थियो।
पहिलो संविधान सभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो। यद्यपि, पहिलो संविधान सभाले संविधान जारी गर्न सकेन। चार पटक प्रधानमन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए। राजा ज्ञानेन्द्र निलम्बनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए।
उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भइ नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित भएको थियो। बोलेको कुरा पुर्याउने राजनेताका रुपमा स्थापित कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो।
माओवादीलाई मूलधारको राजनीतिमा ल्याएकै कारण माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाबाबुलाई सम्झिरहन्छन्। तर नेपाललाई गणतन्त्रात्मक मुलुक बनाउन सफल कोइरालालाई राष्ट्रपति बन्नबाट भने तिनै प्रचण्डले रोकेका थिए। कांग्रेससँग सहकार्य गर्दा प्रचण्डले कोइरालाको नाम लिन भने बिर्सिएका छैनन्।