News Griha :: न्यूजगृह
होलीमा जबरजस्ती रङ दल्ने र इच्छा विपरीत लोला हान्नेलाई कारबाही

काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ। 

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सूचना जारी गर्दै होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएका छन्। 

जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा होहल्ला एवं झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने कार्य नगर्न सबैमा अनुरोध गरेको छ । 

विगतका तुलनामा फागुपूर्णिमामा अनावश्यक तडक भडकसहितका विभिन्न खर्चिला÷भड्किला कार्यक्रम हुने गरेको उल्लेख गर्दै काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेकातर्फ ध्यानाकर्षण गराएका छन्। 
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०७:११
Weather Update