News Griha :: न्यूजगृह
इलाम–२ मा कांग्रेसले सिफारिस गर्‍यो सात उम्मेदवारको नाम

काठमाडौं— आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले उम्मेदवारको नाम सिफारिस गरेको छ। 

क्षेत्रले पठाएको नामहरु जिल्ला र प्रदेश कार्यसमितिले रायसहित केन्द्रमा पठाउनेछ। मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो। 

क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो।

सभापति इदिङ्गोले भने,‘क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौं। दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौं।’ 

त्यस्तै क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए।

बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको उनले बताए। 

सिफारिस भएका नामहरुमा जिल्ला र प्रदेश कार्यसमितिले राय लेखेर पठाउनेछन् र केन्द्रले फाइनल गर्ने पनि उनले बताए। एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो। त्यसैले निर्वाचन हुन लागेको हो। 

कांग्रेसबाट मुख्यगरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकांक्षीका रुपमा दौडधुपमा छन्। 
इलाम क्षेत्र नम्बर २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ। राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उम्मेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यसपटक सकरात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०६:४८
Weather Update