News Griha :: न्यूजगृह
सरकारी सेवा तोकिएकै समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ लागु गरिने

काठमाडौं— सरकारी सेवाहरु तोकिएकै समयमा उपलब्ध गराउन सरकारले ‘टाइम कार्ड’  प्रणाली लागु गर्ने भएको छ। सत्तारुढ ५ दलीय गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा सरकारी सेवा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने प्रतिबद्धता जनाइएको छ। 

मंगलबार सार्वजनिक भएको साझा संकल्पमा फरक–फरक सरकारी कार्यालयमा नागरिकता लगायत कागजात पटक–पटक बुझाउनुपर्ने झन्झट हटाइने विषय पनि उल्लेख गरिएको छ। त्यसका लागि नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत् सबै प्रकारको सेवा उपलब्ध गराइने उल्लेख छ। 

कार्यसम्पादन करारसम्बन्धी विद्यमान निर्देशिकालाई परिमार्जन गरी प्रमुख पदमा बहाल कर्मचारीहरुसँग वस्तुनिष्ठ मूल्याङ्कन र मापनयोग्य परिसूचकहरुका आधारमा कार्यसम्पादन सम्झौता गर्ने विषय पनि गठबन्धनको साझा संकल्पमा उल्लेख छ। 

यस्तै, सार्वजनिक खरिद प्रक्रियामा उच्चतम दक्षता र सदाचार सुनिश्चिति गर्ने आवश्यक कानुनी र संस्थागत सुधार गर्ने पनि साझा संकल्पमा उल्लेख छ। सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउन आवश्यक सुधार गर्ने विषय पनि साझा संकल्पमा अटेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:११
Weather Update