News Griha :: न्यूजगृह
राँगा काट्ने बधशालामा साथीको हत्या गरेर भारत भागेका तिखे २१ वर्षपछि पक्राउ 

काठमाडौं— काठमाडौंस्थित विष्णुमती खोलाको छेउमा २१ वर्ष अगाडि मृत फेला परेका संजय शाहीको हत्यामा संलग्न रहेको अभियोमा प्रहरीले उनका साथीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा सोलुखुम्बुको नेचा सल्यान–४ घर भएका ४१ वर्षीय तिखे भनिने तेज बहादुर राई छन्। राईले २१ वर्ष अगाडि संजयको हत्या गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार २१ वर्ष अगाडि (२०५९ असोज १४ गते) संजय र तिखे सहितले सँगै मादक पदार्थ सेवन गरेका थिए। मापसे गरेपछि उनीहरु काठमाडौं महानगरपालिका–१९ मरुढोका इनाटोलस्थित विनोद शाहीले सञ्चालन गरेको राँगा काट्ने बधशालामा पुगेका थिए। 

मापसे गरेर मात्तिएका उनीहरुबीच बधशालामा विवाद भयो। विवाद बढ्दै गएपछि तिखे र उनका साथीले संजयलाई रडले प्रहार गरी हत्या गरे। बधशालामा हत्या गरेपछि उनीहरुले संजयको शव विष्णुमतीको किनारमा फालेका थिए। 

साथीको हत्या गरेर फरार भएका तिखे भारत पुगेका थिए। लामो समयदेखि भारतमै बस्दै आएका उनी त्यहाँ पनि बधशालामा नै काम गर्ने गर्थे। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतमै पुगेर पक्राउ गरेको हो।

भारतमा पक्राउ गरी नेपाल ल्याइएका उनलाई अपराध महाशाखाको टोलीले मंगलबार पत्रकार सम्मेलनल गरी सार्वजनिक गरेको छ। उनलाई मंगलबार नै आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १६:२४
Weather Update