
भक्तपुर— सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्तिभरण निकासा नभएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी समाजका अध्यक्ष अम्बिकामान मानन्धरले शिक्षकको मात्र निवृत्तिभरण किन रोकिएको भनी प्रश्न गरेका छन् ।
‘सेवा निवृत्त शिक्षकलाई निवृत्तिभरण (पेन्सन) सरकारको सामाजिक दायित्वभित्र पर्छ । यो शिक्षक आन्दोलनका उपलब्धिमध्येको एक हो । त्यसैले यसलाई नरोक्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
विगतमा नियमितरूपमा प्राप्त भइरहेको निवृत्तिभरण २०७९ चैत महिना नाघ्दा पनि सरकारले निवृत्तिभरण निकासा नगरेको जनाइएको छ ।
यसले निवृत्तिभरणको भरमा जीवन निर्वाह गरिरहेका ज्येष्ठ नागरिक शिक्षक प्रभावित भएका छन् । समाजले शीघ्र शिक्षकको निवृत्तिभरण निकासाको लागि सरकारसँग अपिल गरेको छ ।
विज्ञप्तिमा के सरकार आर्थिकरूपले टाटपल्टेकै हो ? भन्ने प्रश्न गर्दै भनिएको छ, ‘टाटपल्टेकै भए शिक्षकको लागि मात्र निवृत्तिभरण किन रोकिन्छ ? शिक्षकलाई सरकारले विभेद गरेकै हो ?’













