
धनगढी— धनगढी विमानस्थलमा अवतरणका क्रममा पाङ्ग्रा फुस्किएपछि श्री एअरलाइन्सको जहाज ग्राउन्डेड भएको छ।
श्री एअरलाइन्सको उडान नम्बर एएनएच २२७ को जहाज सोमबार साँझ काठमाडौंबाट यात्रु बोकेर धनगढी विमानस्थलमा अवतरण भएको थियो। विमानस्थलमा अवतरणपछि पार्किङ गर्ने क्रममा अगाडिको पाङ्गा फुस्किएर गुल्टिँदै झाडीमा पुगेको थियो।
जहाजमा रहेका सबै यात्रुलाई सकुशल रुपमा जहाजबाट निकालेपछि ग्राउन्डेड गरिएको धनगढी विमानस्थलमा प्रमुख गणेशबहादुर सिंहले जानकारी दिए। जहाज पुनः उडान गर्न योग्य नदेखिएपछि ग्राउण्डेड गरिएको विमानस्थल प्रमुख सिंहले बताए। ‘प्राविधिक रूपमा जहाज पुन: उडान गर्न अयोग्य देखियो। त्यसपछि ग्राउण्डेड गरिएको छ,’ सिंहले भने।
गुल्टीएर झाडीमा पुगेको पाङ्ग्रा विमानस्थल र एअरलाइन्सका कर्मचारीले खोजिसकेका छन्। काठमाडौंबाट प्राविधिकको टोली बोलाएर प्राविधिक परीक्षणको काम भइरहेको धनगढी विमानस्थलले जनाएको छ।













