News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
थेसिस सुपरभाइजर प्राध्यापकले जिस्काएपछि भाइसँग मिलेर हत्या, १६ वर्षपछि पक्राउ परिन् सोभिता

काठमाडौं— नेपाल कमर्स क्याम्पस, मिनभवन काठमाडौंका प्राध्यापक धर्मराज विष्टको हत्या घटनाका मुख्य अभियुक्त १६ वर्षपछि पक्राउ परेकी छन्। विष्टको हत्या अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४१ वर्षीया महिलालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–७ घर भइ हाल ललितपुर उपमहानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता भनिने सोभिता थापा अधिकारी छन्। प्रहरीले उनलाई आइतबार ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो। 

मिनभवन क्याम्पसका प्राध्यापक विष्ट २०६४ असार २६ गते काठमाडौंको शंखमुल क्षेत्रमा अर्धचेत अवस्थामा भेटिएका थिए। गर्धन तथा टाउकोमा गम्भीर चोट लागेर ढलेको अवस्थामा भेटिएका विष्टलाई अस्पताल पुर्‍याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भयो। 

Prabhu Bank

प्रहरीले गरेको अनुसन्धानका क्रममा विष्टको कुटपिटबाट ज्यान गएको खुल्यो।

थेसिस बुझाउने क्रममा जिस्काएपछि हत्या?
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र राठोरका अनुसार सोभिताको स्नाकोत्तर तहको थेसिसका लागि विष्ट क्याम्पसबाट सुपरभाइजर तोकिएका थिए। मिनभवन क्याम्पसकी विद्यार्थी सोभिता त्यतिबेला पढ्नलाई भने पाटन क्याम्पस जाने गर्थिन्। 

पढ्नलाई अर्कै क्याम्पस जाने गरेकी सोभितालाई प्राध्यापक विष्टले ‘थेसिस पनि उतैबाट गर्नु नि!’ भन्दै जिस्काउने गरेका थिए। थेसिसको प्रोपोजल (प्रस्ताव) बुझेर पनि थेसिस फाइनल गर्न भने प्राध्यापक विष्टले केही समय लगाएका थिए। थेसिस फाइनल गर्नका लागि सोभिताले पटक–पटक आग्रह गर्दा प्राध्यापक विष्टले पुरानै शैलीमा ‘हतार भए पाटनबाटै गरे हुन्छ!’ भन्दै जिस्क्याउने गरेका थिए। 

थेसिस पनि फाइनल गर्न नमान्ने, उल्टै बारम्बार आफूलाई होच्याउने तथा जिस्क्याउने गरेपछि सोभिता प्राध्यापक विष्टसँग आक्रोशित बनेकी थिइन्। प्राध्यापक विष्टले होच्याउने तथा जिस्क्याउने गरेको विषय उनले आफ्ना भाइ बिनोद थापालाई सुनाइन्। 

भाइ बिनोदले आफ्ना साथीहरुलाई भनेर प्राध्यापक विष्टलाई ‘ठिक पार्ने’ भन्दै योजना बनाए। जसअनुसार सोभिताले प्राध्यापक विष्टलाई भेट्न भनेर बोलाउने र त्यति नै बेला बिनोद सहित उनका साथीहरुको समूहले कुटपिट गर्ने योजना बन्यो। 

त्यसपछि सोभिताले २०६४ असार २६ गते, मंगलबारका दिन प्राध्यापक विष्टलाई भेट्न भन्दै शंखमुल पुन नजिक बोलाइन्। प्राध्यापक विष्ट सोभिताले बोलाएको ठाउँमा पुगे। तर विष्ट पुग्दा त्यहाँ सोभिता भने थिइनन्। 

पूर्व योजनाअनुसार नै सोभिताका भाइ बिनोद र उनका साथीहरु त्यहाँ थिए। पुल छेउमा पुग्नेवित्तिकै उनीहरुले प्राध्यापक विष्टमाथि निर्धात कुटपिट गरे। निर्घात कुटपिटपछि उनीहरु त्यहाँबाट फरार भए। स्थानीयले गम्भीर घाइते अवस्थामा भेटेपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भयो। 

प्रहरीका अनुसार प्राध्यापक विष्टमाथि कुटपिट गर्नेमा सोभिताका भाइ बिनोद र उनका २ जना साथी संलग्न थिए। जसमध्ये बिनोदले २०७१ पुस ३० गते जिल्ला प्रहरी कार्यालय झापामा आत्मसमर्पण गरेका थिए। उनी १० वर्ष कैद सजाय भुक्तान गरी २०७९ असोज ३ गते रिहा समेत भइसकेका छन्। 

विष्टमाथि कुटपिट गर्ने बिनोदका साथी भक्तपुरको लोकन्थली बस्ने राजिब पाण्डे २०६९ वैशाख २१ गते पक्राउ परेका थिए। उनी पनि कैद सजाय भुक्तान गरी २०७६ जेठ १५ गते रिहा भइसकेका थिए। 

राजिब पक्राउ परेपछि मात्रै उक्त घटनामा सोभिताको संलग्नता रहेको विषय खुलेको थियो। तर सोभिता १६ वर्षसम्म पनि प्रहरीको नजरमा परेकी थिइनन्। सोभितासँगै उनका भाइ बिनोदका अर्का १ जना साथी पनि फरार थिए। उनी अझै पक्राउ परेका छैनन्। 

अपराध महाशाखाकी डीएसपी सुरक्षा केसीको टोलीले घटनाको पुन: अनुसन्धान गरेर सोभितालाई पक्राउ गरेको हो। फरार रहेका अर्का १ जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १५:०७
Weather Update