News Griha :: न्यूजगृह
गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं— उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी लागेको आरोपको निष्पक्ष छानबिनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्‌भित्रै छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ।

कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको छ। लामिछानेमाथि लागेको उक्त आरोपमाथि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदै अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिवद्धता जनाएका थिए।

पोखराको सूर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीको अनुसन्धान सकिसकेको अवस्थामा लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ नहुने पनि उनको भनाइ थियो। गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन पर्याप्त प्रमाण र आधार नरहेको प्रधानमन्त्री दाहालको भनाइमा कांग्रेसले विमति जनाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछाने सहकारी ठगीमा प्रत्यक्ष संलग्न रहेको पर्याप्त प्रमाण रहेको र सहकारी ऐनमा राखिएको गैर सदस्यले कर्जा नपाउने व्यवस्थाको उल्लङ्घन भएर गैरकानूनी रुपमा कर्जा प्रवाह भएको दाबी गरे।

‘प्रधानमन्त्रीज्यूले पर्याप्त प्रमाण छैन भन्नुभयो। तर हामी भन्छौँ, पर्याप्त प्रमाण छन्,’ कांग्रेस नेता लेखकले भने, ‘यस विषयमा निष्पक्ष छानबिनको वातावरण सिर्जना गरौँ। संसद्‌भित्रै छानबिन समितिको माग हामी गर्दछौँ।’

विगतमा मन्त्रीहरूमाथि प्रश्न उठ्दा नैतिकताका आधारमा राजीनामा दिएका उदाहरण सुनाउँदै लेखकले गृहमन्त्री लामिछानेले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र अनुसन्धानमा सघाउनुपर्ने बताए। 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:१५
Weather Update