
काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले कांग्रेसले लगाएको आरोपको कुनै प्रमाण नभएको बताए।
उनले भने, ‘रवी लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु कुनै कुरा प्रमाणित भएको छैन तर कांग्रेसले आफुतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ।’
आफु प्रधानमन्त्री भएको बेला शेर बहादुर तामाङ र गोकुल बास्कोटाको प्रसंग उल्लेख गर्दै ओलीले भने, ‘मैले बोलाई चिप्लेकै कारण शेर बहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन। नेपाली कांग्रेसका मन्त्री त झण्डा हल्लाउदै अख्तियार गएका थिए, सबैले देखेको होईन, अनी अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने ?’
ओलीले कांग्रेसले सरकार छोडनुपरेको पीडामा छाति पिटिरहेको भन्दै ब्यंग्य गरे। ‘कांग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पीडा हो। उसले सरकारबाट बाहिरिएको पीडामा छाति पिटेर रुदै के भन्छ ? त्यसलाई धेरै महत्व दिईराख्नुपर्ने आवश्यकता छैन,’ अध्यक्ष ओलीले भने।
सुनकाण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारले राखेका जिज्ञासामा ओलीले सबै घटनामा कानूनअनुसार कारबाही हुने बताए। ‘सोमबार माओवादीका नेता पक्राउ परेका होईनन्। माओवादीका नेता पक्राउ पर्दैनन तर अनुसन्धानभित्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन,’ अध्यक्ष ओलीले भने।
अध्यक्ष ओलीले नेकपा एमालेले सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर पहिला नै राखेको अडान अहिले पुस्टि भएको बताए। उनले भने, ‘त्यतीबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौ, तर काँग्रेसले २ महिला ढिलो गरिदियो।’













