
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन काम गर्नका लागि सुविधा सम्पन्न भएको बताएका छन्।
आफू निरिह भएर बस्न नसक्ने स्वभावको भएकाले कांग्रेससँगको गठबन्धनमा निरिह महसुस गर्दै गठबन्धन फेरेको प्रतिक्रिया दिएका छन्।
कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’मा कुराकानी गर्दै वर्तमान गठबन्धनबाट जनमुखी काम गर्न सहजता भएको बताए।
उनलाई सोधिएको थियो, तपाईंको प्रधानमन्त्रीको कुर्सी कति बलियो छ? यो प्रश्नसँगै गम्भीर बनेका प्रचण्डले भने, ‘जतिबेला प्रधानमन्त्री भएँ त्यो भन्दा अहिले कम्फरटेबल ठानेको छु। काम गर्न पहिलेको भन्दा अहिलेको गठबन्धनमा सुविधा छ।’
सुविधा किन भन्ने विषयमा उनैले प्रष्ट्याए, ‘मेरो अहिलेको गठबन्धनमा नयाँ पार्टी छ। नयाँ पार्टीमा भएका साथीहरूमा केही गरौँ भन्ने जोश छ। केही गर्नैपर्छ भन्ने हुट हुटी पनि छ। अर्को गठबन्धन साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्बाटै भन्नुभएको छ–प्रचण्ड जीले काम गर्नेगरी जोखिम उठाउनुभएको छ। हामी उहाँले उठाउनुभएको जोखिममा सहयोगी बनेर हिँड्ने छौँ, भन्नुभएको छ। यसले मलाई जिम्मेवारीका साथ काम गर्न हौसला मिलेको छ।’
प्रचण्डले आफू निरिह भएर काम गर्न नसक्ने बताउँदै भने, ‘हिजो निरिह प्रधानमन्त्री भएँ कि जस्तो लाग्थ्यो। म निरिह भएर बस्ने मान्छे त होइन। मैले जोखिम मोलेर नै नयाँ गठबन्धन गरेर आएको भएकाले मलाई सजिलो छ।’
प्रचण्डले आफ्नो कार्यकाल भने कति समय भन्ने विषयमा अन्यौलता नै रहेको सुनाए। उनले भने, ‘मेरो कार्यकाल कति चल्छ भन्ने चाहिँ थाहा छैन। तर यो मेरो अनुकुल छ। म केही गर्न चाहन्छु। त्यो वातावरण यो गठबन्धनमा छ। अहिले मैले अनुकुलता महसुस गरिरहेको छु।’













