News Griha :: न्यूजगृह
‘धर्मगुरु’ आचार्य श्री शीतल कृष्णविरुद्ध धेरैजना स्त्रीसँग सम्बन्ध राखेको आरोप [भिडिओसहित]
कथावाचक ‘आचार्य श्री शीतल कृष्णजी महाराज’

काठमाडौं— ‘हिन्दु धर्मगुरु’ भनेर चिनिएका भागवत कथावाचक ‘आचार्य श्री शीतल कृष्णजी महाराज’ की पत्नी सुकृति पौडेल यतिबेला आम सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छाएकी छन्।

पतिले मानसिक तथा शारीरिक हिंसा गरेको र सम्बन्ध विच्छेदका लागि दबाब दिएको भन्दै सुकृतिले बिलौना गरेका भिडिओ क्लिप्स यतिबेला सामाजिक सञ्जालमा भाइरल छन्। 

आइतबार रिपोर्टस क्लबमा पत्रकारै सम्मेलन गरी उनले श्रीमान् शीतल कृष्ण महाराज भुसालले आफ्नो जीवन बर्बाद बनाएको आरोप लगाइन्। 

पति शीतल कृष्णले धेरैजना परस्त्रीसँग सम्बन्ध गरेको आरोप लगाउँदै सुकृतिले आफूले त्यस्तो बानी सुधार गर्न आग्रह गर्दै उल्टै कुटपिट गरेको र जबर्जस्ती सम्बन्ध विच्छेद गर्न खोजेको आरोप लगाएकी छन्।  

२०८० साउन २३ गते राति आफ्नो माइतीघर भरतपुर–५ शमीचोकमा जन्मोत्सव मनाए यता पति महाराज सम्पर्कविहीन भएको सुकृतिको दाबी छ। 

‘बिहान घर (दलदले नवलपुर) मा बुवालाई भेटेर तिमीलाई लिन आउँछु भनेर जानुभयो। आउनुहोला भनेर प्रतीक्षा गर्दै थिएँ,’ उनले भनेकी छन्, ‘अकस्मात् मलाई छोडपत्र दिने विचारले जिल्ला अदालत नवलपुरमा डिभोर्स फाइल पेस गरेको जानकारी आयो।’ 

आफू भारतका लुकेर बसेर भाइ सौगातलाई वारेसनामा दिई सम्बन्ध विच्छेदको मुद्दा अदालतमा पेस गरेको उनको भनाइ छ।

यसबाहेक सुकृतिका अन्य भिडिओ अन्तर्वार्ताका क्लिप्स पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

जसमा उनी भनिरहेकी छन्, ‘एउटासँग सम्बन्ध होइन, एउटासँग भएको भए सायद म छुटाउन सक्थेँ होला। अथवा डाइरेक्ट महिलासँगै गएर कुरा गर्न सक्थेँ होला। यहाँ एउटा मात्र नभएर धेरै जनासँग सम्बन्ध देखियो। 

अन्तर्वार्ताकार सोध्छन्, ‘तपाईंले आफ्नो श्रीमान् जो महाराजजी हुनुहुन्छ, उहाँलाई अरू महिलासँग आपत्तिजनक अवस्थामा भेट्नुभएको छ?’

सुकृति: उहाँलाई मैले सोधेँ– के हो त आखिर? के चलिराछ भन्दाखेरि...यस्तो गर्न हुँदैन है म विवाह भइसकेपछि पनि अरूसँग सम्बन्ध, उहाँको रूपमामा अनैतिक चिजहरू भेटिने! एउटा धर्मगुरुको नाममा प्रसिद्ध मान्छेको! एउटा हिन्दु धर्मगुरु भएको कारणले गर्दाखेरि यो कुराचाहिँ बाहिर समाजमा आउन जरुरी छ नि त। मान्छेलाई अन्धविश्वास परिराछ। अहो! यस्तो मान्छेले पनि यस्तो गर्नसक्छ र! त्यो त म श्रीमती हो, मैलेभन्दा नजिक मेरो श्रीमान्‌लाई कसले चिन्छ र? मैले उहाँको अनैतिक कुराहरू देख्ने, अनि अरूसँगको सम्बन्धहरू मैले देखेँ। त्यहाँदेखि एउटा नारीलाई त्योभन्दा बढी पीडा के नै हुन्छ र?’ 

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २१:३०
Weather Update