
काठमाडौं—महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको छ।
चैत ६ देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाइएको राष्ट्र बैंक स्रोतले बतायो।
'राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कर्मचारी विनियमावली अनुसार हटाएको छ,' स्रोतले पुष्टि गर्यो।
पटकपटक कर्मचारी अनुशासन उल्लंघन गरेको भन्दै आचार्यलाई सेवाबाट हटाइएको हो। आचार्यले आफूलाई दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेर वरिष्ठ महिला कर्मचारीले प्रशासन समक्ष उजुरी दिएकी थिइन्।
आचार्यले गत २७ पुसमा केन्द्रीय बैंकका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममै उनीमाथि दुर्व्यवहार गरेका थिए। ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो।
छानबिन क्रममा दोषी देखिएका आचार्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेवाबाट हटाएको स्रोतको दाबी छ।













