News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईसीसी अध्यक्ष ग्रेग बार्क काठमाडौंमा

काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्क काठमाडौं आइपुगेका छन्। भारतको राजधानी नयाँ दिल्लीबाट नियमित उडानमार्फत काठमाडौं आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले स्वागत गरेका छन्।

अध्यक्ष बार्कलाई स्वागत गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का पनि विमानस्थल पुगेका थिए। चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका छ।

Prabhu Bank

अध्यक्ष बार्कले मंगलबार क्यानका बोर्ड सदस्यहरुसँग छलफल र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको अवलोकन पनि गर्ने छन्। यसैगरी बुधबार उनलाई फाउन्टेन फ्लाइट गराउने तयारी क्यानले गरेको छ भने स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तूपाको भ्रमण गराइने छ। यसैगरी मंगलबार नै प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, राखेप सदस्यसचिवसहितको भेटवार्ता तय गरिएको छ। 

उनी बिहीबार बिहान काठमाडौंबाट नयाँ दिल्ली नै फिर्ता हुने छन्। भारतमा शुक्रबारबाट सुरु हुन लागेको इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी भएर उनी आफ्नो देश फिर्ता हुने जनाइएको छ।

नेपाली क्रिकेट टिमले पछिल्लो समय हासिल गरेको सफलतापछि आईसीसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेकाले अध्यक्ष बार्कको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १८:२५
Weather Update