
काठमाडौं— आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा २० वटा राजनीतिक दल दर्ता भएका छन्। यस्तै, बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा १९ दल दर्ता भएका छन्।
निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलसम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिएका छन्।
निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिनेछ। साथै चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ।
२०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ।