News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
संसद् विघटनको खतरा देख्छु: कांग्रेस प्रमुख सचेतक लेखक

झन्डै एक वर्ष सत्तामा बसेको नेपाली कांग्रेसले सत्ता परिवर्तन भएसँगै प्रतिपक्षको भूमिकामा पुगेको छ। एउटा भूमिकाबाट अर्को भूमिकामा सरेको नेपाली कांग्रेसको आगामी रणनीति र समसामयिक राजनीतिका विषयमा संसदीय दलको प्रमुख सचेतक रमेश लेखकसँग गरिएको कुराकानी। 

अब कांग्रेसको भूमिका कस्तो हुने छ? 

संसद्मा एउटा सत्ता पक्षीय र अर्को प्रतिपक्ष गरी दुईवटा मुख्य भूमिका रहने गर्छन्। दुवै भूमिका आफैँमा फरक हुन्छन्। अहिले हामी प्रतिपक्षको भूमिकामा छौं। हामी सरकारले गरेका कामहरूको मूल्यांकन गरेर तदनुरूप आफ्नो भूमिका निर्वाह गर्नेछौँ। यो ज्यादा आलोचनात्मक भूमिका हुन्छ। 

Prabhu Bank

सत्ता गठबन्धन परिवर्तन भएसँगै हिजो बाहिर बसेर खबरदारी गर्नेहरूलाई आज आफैँले खबरदारी गर्न पाइयो भन्ने लाग्दैछ वा असजिलो हुँदैछ बाहिर बस्न?

हामीलाई बाहिर बस्न खास अप्ठ्यारो त हुँदैन तर तत्काल भूमिका परिवर्तन हुँदा सङ्क्रमणकाल जस्तो हुने रहेछ। जस्तो कि, हामी सरकारमा हुँदा हाम्रै पार्टीका नेताले अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू सदनमा प्रस्तुत गर्नुभएको थियो। त्यस विधेयकमाथि छलफल हुँनै लाग्दा सरकार परिवर्तन भयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूको जिम्मेवारी अब हामीले बोक्ने कि नबोक्ने, सङ्क्रमणकाल जस्तो भएको छ। हिजो त्यो संसद्मा पेश हुँदा तत्कालीन प्रतिपक्षी एमालेले कामै नलाग्ने छ भनेर विधेयकलाई सिधै अस्वीकार गरेको थियो। अहिले त्यो दस्तावेज न सरकारमा जोडिएको एमालेले बोक्छ न प्रतिपक्षमा रहेको कांग्रेसले! सरकार परिवर्तन हुँदा यस्ता खाले संक्रमणहरू देखिने रहेछन्। एकातिर सरकारमा सहभागी एमालेले सदनमै दस्तावेज अस्वीकार गरेको थियो। अर्कातिर दस्तावेज ल्याउने पार्टी नै सरकारमा छैन। 

उसो भए संसद्मा प्रस्तुत भएको उक्त दस्तावेजको जिम्मेवारी अब कसले लिने त ? 

त्यो संसद्को सम्पत्ति हो। त्यसको प्रस्तोता पनि सरकार हो र जिम्मेवारी पनि उसैले लिनुपर्छ। तर, मैले भने नि यस्ता कुराहरूमा अचानक आउने राजनीतिक परिवर्तनले एकखाले संक्रमण जस्तो स्थिति ल्याउने रहेछ। पछिल्लो समय सरकारमा रहेको मुख्य सहयात्री कांग्रेसले पत्तै नपाउनेगरी अचानक सत्ता पलट कसरी भयो? तपाईं तत्कालीन समयमा माओवादीसँग गठबन्धन बनाउने समयपनि नजिकबाट सामेल हुनुभएको नेता हुनुहुन्छ। 

यो आकस्मिक घटनालाई कसरी हेरिरहनु भएको छ ? 

मैले यो गठबन्धन बनाउँदाको क्रममा, रहँदाको क्रममा र भत्किँदा सम्म नजिकबाट नै काम गरेको हो। यो तत्कालीन गठबन्धन भत्किनुको कारणमा बाहिर भन्दा र देखाउँदा एक खालको कारणहरू देखाए पनि यसको पछाडिको मुख्य कुराहरू विस्तारै खुल्दै जालान्। यति त प्रस्टै छ कि यो राजनीतिक छलफलकै साथ आएको गठबन्धन हो। राजनीतिक नजरले हेर्दा खासगरी बामपन्थी पार्टीहरू आपसमा मिल्ने मिलाउने, सकेसम्म पार्टी नै एक गर्ने वा नभएपनि मोर्चा बनाएर जाने मान्यताको साथ उहाँहरु अगाडि बढेको देखिन्छ। तर, प्रत्येक घटनामा तत्कालीन, दीर्घकालीन र अल्पकालीन कारणहरू हुन्छन्।

यो गठबन्धनको दीर्घकालीन स्थिति भनेको पार्टी एक बनाउने, नभए मोर्चा बनाएर बामपन्थीहरू लाई एक ठाउँमा राख्ने देखिन्छ। हाम्रो महासमिति बैठक, मन्त्रीहरूको कार्यशैली र कांग्रेससँग गठबन्धनमा बस्न सहज भएन भनेर उहाँले जुन कारणहरू भनिरहनुभएको छ, यी त निहुँ खोज्नका लागि देखाइएका कारणहरू मात्र हुन्। मुख्य कारण देखाउन नमिलेर स्थापित गर्न खोजिएका सहायक र तत्कालीन साना कारणहरू हुन्। यत्ति कारणले मात्रै त गठबन्धन भत्काइ हाल्नु पर्ने नै थिएन। अहिलेको गठबन्धन कुनै राजनीतिक छलफल र सल्लाहका साथ आएको मैले बुझेको छु।

Ramesh-Lekhak-(2)-1710756575.jpg
सत्ता परिवर्तनपछि संसद्मा बोल्ने क्रममा तपाईंले प्रधानमन्त्रीलाई धोका पाएका दलहरू एक ठाउँमा उभिए भने के गर्नुहुन्छ भनेर प्रश्न गर्नुभएका थियो । प्रतिपक्षमा सर्दाको रोष पोख्नुभएको हो ?

रोष पोखेको होइन। मैँले तथ्यलाई गम्भीर भएर विश्लेषण गरेरै भनेको हो। जस्तो, एमालेले आफ्नो आधिकारिक दस्तावेजमा माओवादीबाट पटकपटक धोका खाएका छौं भनेर उल्लेख गरेको छ। हामीले पनि कांग्रेसलाई विश्वासघात भयो। यो राजनीतिक बेइमानी हो भनेर आधिकारिक धारणा राखेका हौं। माओवादी सरकार बनाउनका लागि मुख्य पार्टी बनेको अवस्था छ। चाहे कांग्रेस होस् या एमाले दुवैका लागि सरकार बनाउन माओवादीलाई नै सामेल गर्नुपर्ने हुन्छ।

अब दुवै ठूला पार्टीले माओवादीबाट धोका खाएको निष्कर्षमा पुगिसकेपछिको अवस्था स्पष्ट भएपछि न मैले बोलेको हो। रोष पोखेको होइन् नि। पछिल्लो समय माओवादीको प्रवृत्ति अस्थिर देखिन्छ। त्यसले नेतृत्वप्रति नै अविश्वसनीयता बढेको छ। चौध महिनामा तीन पटक सरकार परिवर्तन भयो नि। मैँले हिसाब गरेरै भनेको हो। यही गतिमा हिँड्ने हो भने १२ पटक पनि पुग्छ। अब हामीले चारचार महिनामा सरकार परिवर्तन गर्न थाल्यौं भने त्यसले जुन राजनीतिक अविश्वास र धोका सिर्जना गर्छ । अहिलेको प्रधानमन्त्री दाहाललाई भविष्यमा आफ्नै अस्थिर प्रवृत्तिले अप्ठ्यारोमा पार्छ।

आलोचनात्मक रुपमा हेर्ने हो भने तपाईं आफ्नै पार्टीलाई अहिलेको परिवर्तनप्रति कति जिम्मेवार ठान्नुहुन्छ ? 

अहिले सत्ता परिवर्तन राजनीतिक छलफल र सल्लाहबाटै उहाँहरूले गरेको देखिन्छ। त्यसमा कांग्रेसले आफूलाई दोषी मान्नुपर्ने जस्तो लाग्दैन। कांग्रेसबाट पनि केही कमजोरी भएका छन्। तर, प्रधानमन्त्रीले देखाउनु भएको कारणहरू भनेका सहायक मात्र हुन्। कांग्रेसका कारणले उहाँलाई गठबन्धन छुट्टाउनुपर्ने थिएन। निहुँ चाहिन्छ नि छुट्टिन। त्यो निहुँ कांग्रेसका कारण माओवादीले पाएको हो। त्यो मूल कारण भने होइन। 

गठबन्धन फुटाएपछि कांग्रेसकै कारणले फुटेको भन्ने जुन भाष्य निर्माण गर्न खोजियो त्यो कांग्रेसकै कारणले मात्र होइन भनेर हामीले बोल्नुपर्ने अवस्था आएकाले मैले सदनबाट सबै स्पष्ट पारेको हो। गठबन्धन भत्काइसकेपछि मेरा कारणले भनेर जिम्मेवारी लिन त कसैले सक्ने कुरै भएन। अनि भएका साना कारणहरूलाई अतिरञ्जनापूर्ण ढंगले यही कुरा ठूलो हो भन्ने गरी प्रस्तुत गरियो। तर, कांग्रेसकै कारण गठबन्धन भत्काउनुपर्ने अवस्था थिएन। सदनमा मैले यही कुरा स्पष्ट पारेको मात्र हुँ। 

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन भनेर तपाईं भन्नुहुन्छ। कोशी प्रदेशको पछिल्लो सत्ता समीकरण र गत संसदीय निर्वाचनमा कांग्रेसले माओवादीलाई भोट नहालेको स्पष्ट छ। महासमितिमा माओवादीको जनयुद्धलाई अपमान हुनेगरि प्रस्तुत गर्ने कांग्रेस नै हो। सत्ता मै रहँदा नि एक धारका नेताहरू गठबन्धन चुनावसम्म जाँदैन भनेर खेलिरहन्थे। अनि दोष जति सबै माओवादीको मात्रै हो ? 

हाम्रो मिश्रित निर्वाचन प्रणालीकै कारण एकल बहुमतको सरकार कुनैपनि पार्टीले बनाउन सक्ने अवस्था छैन। गठबन्धन त बनाउनैपर्छ। निर्वाचन अगाडि या पछाडि भन्ने विषय मात्रै हो। यो प्रणाली रहँदासम्म एक अर्काले मिलेरै सरकार बाउनु पर्ने अवस्था आउने गर्छ। कांग्रेस एक्लै आफ्नै बलमा निर्वाचन लडेर मत पाइसकेपछिको अवस्था हेरेर जे गर्नुपर्छ गरौँला भन्ने मत कांग्रेसभित्र छ ।
अर्कोतिर तत्कालीन समयमै अवस्था हेरेर परिस्थिति अनुसार रणनीतिक रुपमा कांग्रेस चुनावमा जानुपर्छ भन्ने धार पनि छ। अहिले कांग्रेसले गठबन्धनको परिभाषा गर्दा माओवादीलाई मात्र हेरेर गर्छौ कि गर्दैनौ भनिरहेका छौं। त्यसो गर्नु नै हुँदैन। 

भोलि निर्वाचनमा सबै कम्युनिष्टहरू एक भएर लडे भने कांग्रेसले बाँकी रहेका साना लोकतान्त्रिक पार्टीसँग मिलेर गठबन्धन गर्ने कि नगर्ने त ?  

यो हामी आफैं भित्रको बहसको विषय हो। नयाँ समीकरण बनेपछि कांग्रेसका नेतादेखि सहमहामन्त्रीसम्मले र एमालेका नेताहरुले पनि मिलेर गठबन्धन बनाउनुपर्छ भनेको सुनिन्छ। 

Ramesh-Lekhak-(4)-1710756574.jpg
सम्भव छ अब त्यसो गर्नलाई ? 

मैँले गठबन्धनमा जोडिएका कुनैपनि पार्टीभित्र पूर्ण सन्तुष्टि देखिराखेको छैन । एमालेका तमाम यस्ता साथीहरू छन् जो संसद्‌भित्र र बाहिर पनि प्रचण्डसँगको मेलमिलापबाट सन्तुष्ट छैनन्। एउटै पार्टी बनाउँदा पनि प्रचण्डसँगको सम्बन्ध तोडेर गएको असफलताको अनुभव हुँदाहुँदै फेरि उनैसँग मिल्ने कुरा बेठिक हो भन्ने एमाले भित्रका धेरैलाई परेको छ। माओवादीका लाई पनि पुरानै सम्बन्ध नभुल्दै हतारमा नयाँ सम्बन्ध प्रचण्डले बनाए भन्ने परेको छ। माधवजी (माधवकुमार नेपाल) को पार्टीको विचार संसद्‌भित्रै बाट सबैले सुनेका छन्। प्रमाण नै त छैन मसँग तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि असन्तुष्टिको लहर छ भन्ने सुन्दैछु। जसपाको थाहै छ सबै। प्रचण्डले चारवटा पार्टीलाई लिएर गठबन्धन बनाउनुभयो। यो गठबन्धन भित्रका चारै पार्टीभित्र गठबन्धनलाई लिएर सन्तुष्टि छैन। यो एउटा परिस्थिति हो। 

अर्को, प्रचण्डजीको पहिलेको र अहिलेको मतभार हेर्दा निकै तल आइसकेको छ। यो गठबन्धनका विरुद्धमा प्रतिपक्ष बलियो भएर अगाडि बढेको छ।  यो गठबन्धन धेरै दिन जानेमा कोही विश्वस्त छैनन्। त्यसैले फाइदा चाँही कांग्रेसलाई नै भएको छ। पार्टीभित्र अभूतपूर्व एकता देखिएको छ। त्यो बाहेक सरकारमा गएका सबै पार्टीमा विभाजन देखिन्छ। स्वभाविक रुपमा सम्भावना नयाँ कुराको लागि देखिएको छ। एक त नेपाली राजनीतिमा जे पनि सम्भावना हुन्छन्। अर्कातिर गठबन्धनभित्रका दलमा पनि एकता देखिँदैन। यस्तो बेलामा सम्भावना रहिरहने हुनाले तपाईंले भनेजस्तो आकलन भइरहेका छन्। 

तीव्र रुपमा हुने सरकार परिवर्तनका कारण संसद्को पूर्ण कार्यकाल माथि प्रश्न उठ्छ कि उठ्दैन ? 

हामी कुनै पनि हालमा संसद्लाई विघटन गर्नेतर्फ जानै हुँदैन। तर, खतरा भने बढेको छ। संसद् विघटनको विगतका घटनाले सुखद परिणाम ल्याएका छैनन्। सबैले देखेका छौं। तारन्तार चारपाँच महिनाको अन्तरालमा नयाँ गठबन्धन बन्ने र सरकार परिवर्तन भइरहने अवस्थाले गर्दा संविधानका व्यवस्थाहरू एकपछि अर्को प्रयोग हुँदै गएर विकल्प विनाको निर्वाचन भन्ने ठाउँमा पुग्न सकिने अवस्था आउनसक्छ। त्यहाँसम्म पुग्नै हुन्न । सरकार परिवर्तनले मात्रै अस्थिरता ल्यायो भन्न त हुँदैन। तर परिवर्तनको जुन गति अहिले देखिएको छ यसरी नै गयो भने आम जनतामा संविधान र व्यवस्थाप्रति नै वितृष्णा आउँछ। 

Ramesh-Lekhak-(1)-1710756575.jpg
तपाईंले अघि अझै नयाँ गठबन्धनको सम्भावना छ भनिसक्नुभयो। कांग्रेसमा एकता पनि देखिएको छ। कांग्रेसले अब केही समय सत्ताको लोभ नगरेर संसद्को यो कार्यकालसम्म आगामी निर्वाचनको तयारी गर्दै प्रतिपक्षमै रहेर क्रियाशील हुन सक्दैन? 

अहिले मैले के देखिराखेको छु भने गठबन्धन भत्किएपछि हाम्रो पार्टीमा अलि जोस र एकता देखिएको छ। कम्युनिष्ट सबै मिले पनि मिल्दछन् हामी एक्लै निर्वाचनमा जान्छौ भन्ने कुरामा अलिकति उत्साहित देखेको छु कांग्रेस। यही उत्साहले कांग्रेसलाई अबका दिनमा सत्ताको लोभ नगरेर प्रतिपक्षमै बसेर सडक र सदनबाट रचनात्मक, सिर्जनात्मक, जिम्मेवार र क्रियाशील भूमिका निर्वाह गरे जाउँ भन्ने स्थितिमा पुर्याउन सक्छ। कांग्रेस आफ्नै विचारले कालजयी छ। जस्तोसुकै स्थितिमा पनि कांग्रेसले आफ्नै विचारमा उभिएर जस्तोसुकै चुनौतीको पनि सामना गर्न सक्छ। हामीलाई त्यसका लागि पार्टी उत्साह, विश्वास र आत्मबल मात्रै चाहिएको छ। 

अहिलेसम्मको संविधानको कार्यान्वयनको अवस्था हेर्दा यसको भविष्य कस्तो देख्नुहुन्छ ? 

यसलाई दुई हिसाबले हेरौं। एउटा हामी त्यस्तो देश हौं जहाँ सात दशकमा दशवटा संविधान बनाइसकेका छौं। संविधान धेरै बन्नु भनेको राम्रो मानक होइन, मानिँदैन। त्यो त धेरै व्यवस्थाको असफल प्रयोग गर्यौँ भन्ने हो। त्या त हामी कति धेरै अस्थिरताको दौडबाट गुज्रियौ भन्ने प्रमाण हो। अब हामीलाई यो संविधान असफल बनाउने छुट छैन। यसलाई सफल बनाउनै पर्छ। तर, संविधान जडवस्तु होइन चलायमान र क्रियाशील दस्तावेज हो। यसलाई गीताको रुपमा हेर्न थालियो भने फेल हुनेतिर जान्छ। आजको दिनमा संविधानलाई पुनरावलोकन गरेर यसभित्रका कमीकमजोरी, जटिलता र कार्यान्वयनमा देखिएका समस्यालाई संशोधनमार्फत सुधार गरेर लिएर जानुपर्ने बेला भइसक्यो। संशोधन गर्दा यसका आधारभूत मर्महरू मर्नु हुँदैन। संविधानको पुनरावलोकन गरेर दीर्घजीवी बनाउन यसमा सिर्जनशील र रचनात्मक परिवर्तन गरौँ। 

संविधानको पुनरावलोकनसहित रचनात्मक संशोधन गरौँ भन्नुभयो। बाहिर हिन्दु राज्यको पक्षमा आवाज उठिराखेका छन्। कांग्रेसभित्रै पनि धर्म निरपेक्षता हुनुहुँदैन भन्ने आवाज उठेको छ । त्यो विषय संशोधनमा पर्छ ? 

हामीले अध्ययन गर्दा समग्रतामा गर्न पाइयो। तर, संविधानका धर्म निरपेक्षता लगायतका केही आधारभूत तत्त्वहरू छन् त्यसलाई अहिले नै खलबल्याउन हुँदैन। नेपाल धेरै धार्मिक, सामाजिक, जातीय सहिष्णुता भएको देश हो। यसलाई हामीले यो र त्यो धर्म भन्ने बहसमा लिएर गयौँ भने यसले अहिले हाम्रो सामाजिक सद्भावमा खलल गर्छ। यो विषयलाई सबैले गम्भीरतापूर्वक सोच विचार गर्न जरुरी छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:५८
Weather Update