News Griha :: न्यूजगृह
धनगढीका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की, सुरक्षा माग गर्दै प्रशासनमा दिए निवेदन

धनगढी– धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपाल हमाललाई ज्यान मार्ने धम्की आएको छ। सामाजिक सञ्जाल ह्वाट्सएपमा कल गर्दै १ जना व्यक्तिले हमाललाई ज्यान मार्ने धम्की दिएको उनको सचिवालयले जानकारी दिएको छ।

ज्यान मार्ने धम्की दिने व्यक्ति राना थरका रहेका बताइएको छ। हमाललाई आइतबार राति त्यस्तो धम्की आएको बताइएको छ।  

ज्यान मार्ने धम्की आएपछि मेयर हमालले सुरक्षा व्यवस्था गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले धनगढीका मेयरबाट सुरक्षाको मागसहित निवेदन प्राप्त भएको जानकारी दिए। 

मेयर हमालको निवेदनसहित सुरक्षाको प्रबन्धनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय सूचना अधिकारी जोशीले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदीप चन्दले धम्की दिने व्यक्तिको पहिचान भइसकेको बताए। उनलाई छलफलका लागि बोलाइएको चन्दको भनाइ छ। ‘धम्की दिने व्यक्तिको पहिचान भइसकेको छ। उनलाई छलफलका लागि बोलाएका छौं। छलफलमा बोलाएपछि मात्रै धम्की दिनुको कारणबारे खुल्छ,’ चन्दले भने। 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:४९
Weather Update