News Griha :: न्यूजगृह
सभापति सोनाम गेल्जेनले गरे पदभार ग्रहण

काठमाडौं—राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका नवनिर्वाचित सभापति सोनाम गेल्जेन शेर्पाले सोमबार पद वहाली गरेका छन्। 

सोमबार सिंहदरबारस्थित समितिको सभाकक्षमा पदवहालीपछि उनले संघीयता कार्यान्वयनको लागि समितिले सरकारलाई सहजीकरण गर्नेगरी काम गर्ने बताए।

उनले भने, ‘हामी सरकारको प्रतिपक्ष भन्दापनि सरकारलाई राम्रो काम गर्न सहजीकरण गर्दै काम गर्ने वातावरण मेरो कार्यकालमा बनाउँछु।’ 

उनले समितिको फराकिलो कार्यक्षेत्रको दायरालाई घटाएर संघीयता कार्यान्वयन र सवलीकरणका लागि आफ्नो कार्यकालमा काम गर्ने बताए। 

‘हामी समितिमा धेरै विषयलाई समेट्ने भन्दा पनि रिजन बेसमा काम गछौं ’ शेर्पाले भने।

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि फागुन २१ गते सकिँदा दुई समितिको सभापति पद रिक्त भएको थियो। संशोधित राष्ट्रिय सभा नियमावलीबमोजिम रिक्त भएको १५ दिनभित्र सभापतिको चयन हुनुपर्ने हुन्छ।

सो व्यवस्थाबमोजिम चैत ५ गतेभित्र रिक्त रहेका दुवै समितिले सभापति पाउनुपर्ने हुन्छ। सोहीअनुसार नेकपा (एमाले)का शेर्पा निविरोध सभापति चयन भएका हुन्। 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १४:०६
Weather Update